चीनको नाका छुनेगरी पूर्वी नेपालको सडक निर्माणको काम सकिँदै

ram naam satya

चट्टानी पहरा फोरेर ट्रयाक खोल्ने काम सकिएपछि चाँडै जोगबनी-किमाथांका मार्ग जोडिने भएको छ । सडकले सोझै चीनको सीमा छुनेछ । अर्थमन्त्री युवराज खतिवडाले बीचको अप्ठ्यारो भूगोलका कारण विलम्ब भएको सडकको काम सेनाको सहयोगमा अघि बढाएर चाँडै किमाथांका जोड्ने बताउनुभयो।अघिल्लो साता विराटनगरमा आयोजित कार्यक्रममा उहाँले सकेसम्म चाँडो ट्रयाक खुलाएर किमाथांकामा भन्सार विन्दु स्थापना गर्ने जानकारी दिनुभएको थियो। भन्सार विन्दु स्थापनापछि चीनसँग व्यापारिक कारोबार सुरु गर्ने तयारीमा सरकार रहेको कुरा कान्तिपुर अनलाइनले लेखेको छ।

संघीय सरकारले बजेट प्रस्तुत गर्ने क्रममा छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्षभित्र सक्ने घोषणा गरेको थियो। स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले यो सडकलाई उच्च महत्त्व दिएका छन् । उद्योगी-व्यवसायीलगायत सरोकारवालाले चीनसँग सोझै सडक जोडिएर नयाँ नाका खुल्नु उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।

जोगबनी-किमाथांका सडक मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको छ । व्यापारिक महत्त्वको यो सडक मोरङको रानीस्थित जोगबनी सीमादेखि संखुवासभाको किमाथांकासम्म पुग्छ। दक्षिणलाई उत्तरी नाकासँग जोड्ने करिब ३ सय ४० किलोमिटर सडकको केही किलोमिटर मात्र खुल्न बाँकी छ। सडक पूरा भएर व्यवस्थित बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने आशा गरिएको छ।

थाहा भएअनुसार खाँदबारी-किमाथांकाको दूरी १ सय ६२ किलोमिटर छ । त्यसमध्ये १ सय ४४ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको योजनाका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले बताउनुभयो। १४ किमि सडकका लागि चट्टानी क्षेत्रमा विस्फोट गराएर ट्रयाक खोल्नुपर्ने छ । यो कामका लागि विस्फोटक पदार्थ राख्न चेपुवाको च्याम्ताङमा बंकर निर्माण भइरहेको छ ।

कोसी सडक योजनाले हटियाबाट च्याम्ताङसम्म ट्रयाक खोलेर त्यसलाई चौडा बनाइरहेको छ । बरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चारवटा भाग छुट्याएर काम भइरहेको छ । किमाथांकासम्म नाका खोल्नका लागि चेपुवादेखि किमाथांकाबीचमा पर्ने शंखेभीरमा ६ किलोमिटर, महभीरमा ५ किलोमिटर सडक र आसपासका साना-साना अन्य भीरको कारणले ट्रयाक खोल्न अलि कठिनाइ देखिएको छ । ठूल्ठूला भीर र चट्टान भएकाले समय लागेको हो ।

यसैबीच मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको चीन सीमासम्म जोडिने यो सडक खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा बिगि्रए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ ।

सडक निर्माणले नेपालको व्यापार विस्तार हुने आशा गरिएको छ । चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन्। किमाथांकाबाट तिब्बतको ल्हासा र व्यापारिक सहर सिगात्से छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन् । किमाथांका नाकाबाट सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *