चिनियाँ सहयोगमा नेपालको रसुवागढीमा सुख्खा बन्दरगाहको निर्माण हुने

ram naam satya

नेपालको उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ। मुस्ताङको कोरला नाकामा पनि सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसम्भाब्यता अध्ययन पूरा गरेको अनलाइन खबरले लेखेको छ।

टिमुरेमा निर्माण हुने बन्दरगाहको डिजाइन पनि तयार भइसकेको छ। अब चीन सरकारले निर्माण थाल्नेछ। रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास समिति र चीन सरकारले यो ड्राइपोर्टको डिजाइन स्वीकृत गर्दै काम अगाडि बढाउने सम्झौता गरेका छन्। त्यसका लागि समितिको टोली चीनको छेन्दु पुगेको थियो।

बन्दरगाह निर्माण अघि बढाउने जिम्मा चिनियाँ पक्षले लिएको छ। करिब तीन महिनाभित्रै निर्माण सुरु गर्ने तयारी छ। निर्माण प्रक्रियामा नेपालले सहजीकरण मात्रै गर्नेछ। बन्दरगाह निर्माण सुरु भएको दुई वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ। त्यसपछि चीनले नेपाललाई हस्तान्तरण गर्नेछ। बन्दरगाह निर्माण गर्न १५० देखि १८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्टरमोडलका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिनुभयो।

८ हेक्टर क्षेत्रफलमा फैलिने बन्दरगाहमा करिब ३५० वटा मालबाहक कन्टेनर अटाउने छन्। २ वटा जाँचपास स्थल, एउटा गोदामका साथै पाँचतले प्रशासनिक भवन हुने इन्टरमोडल यातायात विकास समितिका महाप्रवन्धक हेमेन्द्र शाहीले जानकारी दिनुभयो। यो ड्राइपोर्ट बनेपछि रसुवागढी नाका हुँदै चीनसँग हुने ब्यापार सहज हुने सरकारको विश्वास छ । सुख्खा बन्दरगाहका लागि स्थानीय वासिन्दाको ५८ रोपनी जग्गा अधिग्रहण गरिएको छ भने सरकारी स्वामित्वमा रहेको १०९ रोपनी जग्गा पनि बन्दरगाह क्षेत्रमै समेटिएको छ। यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर जमिन पनि बन्दरगाहले ओगट्नेछ।

यो ड्राइपोर्ट बनेपछि रसुवागढी नाका हुँदै चीनसँग हुने ब्यापार सहज हुने सरकारको विश्वास छ। ‘अहिले कन्टेनरहरुलाई सडकमै पार्किङ गर्नुपर्ने अवस्था छ। भन्सारको भवन पनि राम्रो छैन। यो निर्माण भएपछि गोदाम पनि बन्ने भएकाले धेरै किसिमबाट सहजता आउनेछ’ इन्जिनियर आचार्यले भन्नुभयो।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका अझैसम्म सुरु हुन सकेको छैन। चीनले तातोपानी नाका भन्दा पनि रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ।

रसुवागढी नाकाको स्तरोन्नतिका लागि स्याफ्रुबेंसी-रसुवागढी सडकको स्तरोन्नती पनि हुँदेछ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चीनले नै तयार गर्दैछ। सरकारले पनि रसुवागढीलाई काठमाडौंसँग नजिक्याउन काठमाडौंको टोखाबाट थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन गरेको छ। त्यहाँबाट स्याफ्रुबेंसीसम्म नयाँ सडकमार्ग बनाएर चीनलाई नजिक्याउने योजना सडक विभागको छ।

रसुवागढीका साथै मुस्ताङको कोरला नाकामा सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसम्भाब्यता अध्ययन पूरा गरेको छ। अब सम्भाब्यता अध्ययन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया सुरु हुनेछ। केही दिनमै आशयपत्र माग गर्ने इन्जिनियर आचार्यले बताउनुभयो।

कोरलामा २ स्थानमा बन्दरगाह निर्माणको विकल्प अघि सारिएको छ। भन्सार विभागको स्वामित्वको १०९ रोपनी जग्गा र नाका छेउमै रहेको सरकारी जग्गामा बन्दरगाह निर्माण गर्न सकिने देखिएको छ। सम्भाब्यता अध्ययन पछि नै कति लागत तथा कति क्षेत्रफलको बन्दरगाह बनाउने भन्ने तय हुने समितिले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *