चिनियाँ सहयोगमा कलंकी–महाराजगञ्ज खण्ड विस्तार हुने

ram naam satya
चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनले अग्रसरता लिएको छ। कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव दुई किमि लम्बाइको रहेको अनलाइन खबरले लेखेको छ।

चीनको वाणिज्य मन्त्रालयले जुन २०१८ सम्ममा उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरेको छ। चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले नै विस्तार गरिरहेको छ, जुन साढे नौ किमि लामो छ।

कलंकी–महाराजगञ्ज खण्ड विस्तारको लागत निक्र्योल भइसकेको छैन। उत्तरी छिमेकीको ताकेतापछि विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘अब पोलहरु हटाउने र ढल सार्ने प्रक्रिया थाल्छौं,’ उहाँले भन्नुभयो।

चक्रपथकै बाँकी महाराजगञ्ज–कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ। पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तारसम्बन्धि सहमति भएको थियो। संयोगवस, चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो,जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमेकीले चासो लिँदै आएको छ।

कोटेश्वर–कलंकी खण्डको विस्तारमा पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ। र, चिनियाँ ठेकेदार र कामदारहरु नै सडक विस्तारमा उपयोग भइरहेका छन्। उक्त खण्डको करिब ७० प्रतिशत काम सकिएको छ। ३० प्रतिशत निर्माणमा जुटिरहँदा सम्झौता अवधि ६ महिना मात्र बाँकी छ।

उक्त खण्ड सञ्चालनमा आउनासाथ कलंकी–महाराजगञ्ज सडकमा काम थाल्ने योजनामा देखिएको छ, चिनियाँ पक्ष।

चक्रपथको बाँकी खण्डको डिजाइन भने केही फरक हुने विभागको वैदेशिक महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा खाली ठाउँ राखिनेछ।

कोटेश्वर–कलंकी खण्डको बीचमा मेडियन राखिएको छैन। मेडियन नराखिएका सडकमा राति गुड्ने सवारी साधन चालकको आँखामा विपरित दिशाबाट आइरहेका सवारीको बत्ति पर्छ। र, निर्वाध अगाडि बढ्न असहज स्थिति बेहोर्नुपर्छ।

कलंकीबाट महाराजगञ्ज हुँदै कोटेश्वरसम्मको १७ किमि सडक विस्तारको सम्भाव्यता अध्ययन पनि चिनियाँ प्राविधिकले नै गरिसकेका छन्। र, चीन सरकारले यसको प्रतिवेदनसमेत स्वीकृत गरिसकेको श्रेष्ठले जानकारी दिनुभयो। पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *