

सबैभन्दा बढी चिनियाँ लगानी रहेको होङ्सी शिवम सिमेन्ट उद्योगमा चीनको २६ अर्ब १४ करोड रुपैयाँ लगानी छ। नवलपरासीमा निर्माणाधीन यो उद्योग ०७२ मंसिर २८ गते विभागमा दर्ता भएको थियो। यो आयोजनाले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिने छ। चिनियाँ लगानीकै ह्वासिन सिमेन्टको १४ अर्ब ८२ करोड रुपैयाँ लगानी स्वीकृत भइसकेको छ। धादिङ र मकवानपुरमा रहेको पानीखर्क चुनढुङ्गा खानी ६० करोडमा यो कम्पनीले किनेको थियो। चीन सरकारको २० प्रतिशत शेयर रहेको ह्वासिनले विश्वमा ३० भन्दा बढी देशमा उद्योग स्थापना गरेको छ। ह्वासिनले सात लाख रुपैयाँको खानीलाई ६० करोड रुपैयाँ बोलकबोल गरेर किनेको हो।
नवलपरासीमै खुल्ने तियानी सिमेन्ट उद्योगमा एक अर्ब ९० करोड रुपैयाँ लगानी हुने विजमाण्डु अनलाइनले जनाएको छ।

चिनियाँ लगानीका दुई होटलमा तीन अर्ब रुपैयाँ लगानी गरिएको छ। काठमाडौंमा स्थापना हुने वाल्डो डाईनास्टी होटल र दोदगु होटल दुवैमा चिनियाँ लगानी छ। वाल्डो तीन सय बेडरुमको होटल हो। मकाउमा रहेको वाल्डो डाईनेस्टीको शाखा होटलको रुपमा काठमाडौंमा होटल स्थापना गर्न लागिएको हो।दोदगु भने १ सय ८० बेडरुमको होटल हो। यसमा १५ प्रतिशत नेपाली लगानी छ। वाल्डो डाईनास्टीमा दुई अर्ब र दोदगु होटमा एक अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।

लगानीको हिसावले दोस्रो ठूलो चिनियाँ आयोजना कालिगण्डकी अपर ७२ (६५ मेगावाट अपग्रेड) मेगावाटको जलविद्युत आयोजना परेको छ। कुल २२ अर्ब रुपैयाँ लागतको उक्त आयोजनामा चिनियाँ कम्पनी सिनोहाईड्रोको २० अर्ब २४ करोड रुपैयाँ लगानी रहने उल्लेख छ।०७० पुस ७ गते उत्पादन लाईसेन्स पाएको कालिगण्डकी अपरमा ९२ प्रतिशत चिनियाँ र नेपाली कम्पनी ट्रेडलिङ्क ग्लोबलको ८ प्रतिशत लगानी रहेको छ।आयोजनाले उत्पादन अनुमती पाएपनि काम भने अघि बढाएको छैन। समय बढेसँगै आयोजनाको लागत पनि बढिसकेको छ।
