चिनियाँ राजदूत यु होङद्वारा नवनिर्वाचित प्रधानमन्त्री ओलीसँग भेट

ram naam satya

नेपालका लागि चिनियाँ राजदूत यू होङले गत बिहीबार नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नु भएको छ। उहाँले शपथ लिनुअघि नै चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई तथा शुभकामना वक्तव्य सुनाउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। वक्तव्यमा चीनले नयाँ सरकारसँग निकै निकट रहेर आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहेको उल्लेख छ।

संक्षिप्त भेटमा राजदूत युले प्रधानमन्त्री ओलीलाई बेइजिङमा स्वागत गर्न आफ्नो सरकार आतुर रहेको जनाउँदै राजनीतिक स्थायित्व र विकासका लागि चीन सधैं साथ रहने बताउनुभयो। उहाँले निर्वाचनमा वाम गठबन्धनको बहुमत र सरकारमा सहकार्यका लागि शुभकामनासमेत दिनुभयो। ओली र युबीच दुई देशबीचका सम्झौता अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो।

यसैगरी भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत बिहीबार राति नै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजको बधाई सन्देश बोकेर ओली निवास बालकोट पुग्नु भएको थियो। पुरी त्यहीँ रहँदा मोदी र स्वराजले पालैपालो ओलीसँग टेलिफोन संवादसमेत गर्नु भएको थियो। यसैबीच पाकिस्तानी विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै ओलीलाई त्यहाँका प्रधानमन्त्रीका तर्फबाट शुभकामना तथा बधाई सन्देश दिएको छ। ओलीको नेतृत्वमा यस क्षेत्रको विकास र शान्तिका लागि मिलेर काम गर्न आफूहरू तयार रहेको वक्तव्यमा उल्लेख छ। नेपाल पनि विकासको युगमा प्रवेश गरेको पाकिस्तानले दिएको सन्देशमा उल्लेख छ।

यसअघि बंगलादेश र अमेरिकाले पनि ओलीलाई बधाई दिइसकेका छन्। सार्क महासचिव अम्जद हुसेन बी सियालले पनि ओलीसँग निकट रहेर काम गर्न र सार्कको विकासमा सहकार्य गर्न उत्साही रहेको भन्दै शुभकामना दिनु भएको छ। प्रधानमन्त्री ओली सार्कका अध्यक्षसमेत रहेकाले उहाँको नेतृत्वमा यस क्षेत्रमा धेरै काम हुन सक्ने महासचिवले विश्वास व्यक्त गरेका छन्। उहाँलाई अन्य मुलुकका राजदूतहरूले पनि शुभकामना दिइरहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *