चिनियाँ मेसिनले भेरी–बबई डाइभर्सनको सुरूङ निर्माण तीब्र

ram naam satya
 भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको डेढ महिनामा कुल लम्बाइको १० प्रतिशत काम सम्पन्न भएको छ। चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम)ले अपेक्षाभन्दा राम्रो काम गर्न थालेपछि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट कम पर्ने भएकाले अर्थ मन्त्रालयले तत्काल एक अर्ब रुपियाँ आयोजनाको कामलाई खर्च गर्न स्वीकृति दिएको गोरखापत्र अनलाइनले लेखेको छ।

      सिँचाइ मन्त्रालयका प्रवक्ता तथा सहसचिव सागरकुमार राईका अनुसार अत्याधुनिक मेसिनले अपेक्षाभन्दा राम्रो काम गर्न थालेपछि चालू आर्थिक वर्षको विनियोजित रकमले अपुग हुन सक्ने देखिएकाले चार अर्ब रुपियाँ थप मागका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरिएको थियो। अर्थ मन्त्रालयले तत्काल एक अर्ब रुपियाँ निकासा दिएको छ। चालू आर्थिक वर्षको बजेटमा यस आयोजनाका लागि जम्मा ८० करोड रुपियाँ मात्र विनियोजन गरिएको थियो।

प्रवक्ता राईले भन्नुभयो, यो राष्ट्रिय गौरवको आयोजना हो, यसरी नै द्रुतगतिमा काम हुने हो भने अर्थ मन्त्रालयले काम अनुसारको बजेट जति बेला पनि दिन्छु भनेको छ।

आयोजना प्रमुख शिवबहादुर बस्नेतका अनुसार बिहीबारसम्ममा एक किलोमिटर दुई सय मिटर सुरुङ पूर्ण रूपले खनिसकिएको छ। आयोजनाका लागि कुल १२ किलोमिटरको सुरुङ खन्नुपर्ने हुन्छ। यसअघि टनेल बोरिङ मेसिन (टीबीएम) राख्नका लागि प्लेटफर्मको रूपमा १५० मिटर खन्न तीन महिनाभन्दा बढी समय लागेको थियो। मेसिनको लम्बाइ नै २७४ मिटर भएकाले मिटर राखेर जोड्नका लागि १५० मिटर सुरुङ परम्परागत प्रविधिबाट खनिएको हो। परम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ। टीबीएम सुरुङ खन्नका लागि भनेर चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले चीनबाट आयात गरेको अत्याधुनिक मेसिन हो। यसका पार्टपुर्जा अमेरिका र चीनमा बनेका हुन्।

प्रमुख बस्नेतले भन्नुभयो, अहिले दैनिक सुरुङ खनेबापत मात्र डेढ करोड रुपियाँ खर्च भइरहेको छ। मेसिनले पहाडभित्र खन्दै जाने र खनिसकेको भागमा फिनिसिङ गर्ने काम पनि एकैसाथ हुँदै गरेकाले खन्ने र फिनिसिङ गरेको दुईवटा कामको भुक्तानी गर्नु परिरहेको छ। त्यसैले विनियोजित रकम कम पर्नसक्ने देखिएकाले थप बजेटको माग गरिएको हो।

आयोजनाले सन् २०२० सम्ममा सुरुङ खनिसक्ने कार्य योजना बनाएको छ। पराम्परागत प्रविधिबाट खन्दा दैनिक औसतमा एकदेखि दुई मिटर मात्र सुरुङ खन्न सकिने भए पनि हाल टीबीएमका प्रयोगपछि दैनिक औसत २० मिटरसम्म सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। सुरुङको भौगर्भिक अध्ययनले छ किलोमिटर खण्ड निकै कडा चट्टान भएकाले खन्न निकै जोखिम भएको जनाएको छ। त्यसका लागि चिनियाँ ठेकेदार कम्पनीले टीबीएमको प्रयोग गरेको हो। आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय बनाइएको छ। आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्नेछ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सो मेसिनद्वारा सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ व्यासको १२ किलोमिटर सुरुङ खन्नेछ। यो कार्यका लागि २०७१ साल माघ १५ गते सरकारले यो कम्पनीसँग सम्झौता गरेको थियो। सो चिनियाँ कम्पनीले चार वर्ष १० महिनामा कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्झौतापत्रमा गरेको छ। सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब रुपियाँ र सिँचाइतर्फको वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *