

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उपनिर्देशक चीन होङ नेतृत्वको प्रतिनिधिमण्डलले महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेको हो।
चिनियाँ प्रतिनिधिमण्डलमा इकर्स, आयात निर्यात, स्मार्ट होम डेभलपर, लगानी, डेरी, विद्युत् तथा विद्युतीय, ऊर्जा उत्पादकहरूको प्रतिनिधित्व थियो। बैठकमा चिनियाँ प्रतिनिधिमण्डलले चीनमा आयोजना हुने मेलामा नेपालको बलियो सहभागिताका लागि आग्रह गरेको थियो। नेपालमा लगानीका लागि आफूहरू निकै उत्साहित भएको र नेपालमा राजनीतिक स्थिरताका साथै लगानीको वातावरण बन्दै गएको भन्दै चिनियाँ प्रतिनिधिमण्डल प्रमुख चीन होङले नेपालमा लगानी ल्याउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो।

महासंघका पदाधिकारीहरूसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले आगामी वर्षदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मार्चको अन्त्य वा अप्रिलको पहिलो हप्ता गर्न सके चीनबाट अझ बढी सहभागिता जनाउन सकिने बताएको छ।
त्यस अवसरमा दुवै पक्षबाट आ–आफ्ना व्यावसायिक परिचयका साथै लगानीका सम्भाव्य क्षेत्रका विषयमा छलफल भएको थियो। यसैबीच नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको अवलोकन गर्नेहरूको भीड लागेको कारोबार अनलाइनले जनाएको छ। मेलामा नेपाललगायत चीन, भारत, बंगलादेश, पाकिस्तानको सहभागिता छ।

