

आज डिसेम्बर ४ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सम्बन्धित निर्णय प्रस्ताव विपरीत उत्तर कोरियाले गरेको आणविक क्षेप्यास्त्र परीक्षणको चीनले पहिलेदेखि नै बिरोध गर्दै आएको र चीनले सधैं सुरक्षा परिषद्का विभिन्न निर्णय प्रस्तावका विषयहरुको अक्षर:पालना गर्दै आएको बताउनुभयो। चीनले कोरियाली प्रायद्वीपको परिस्थितिलाई संकटग्रस्थ बनाउने कुनै पनि गतिबिधिको विरोध गर्नुका साथै निरन्तर रुपमा मध्यस्थता गरिरहेको कुरा पनि उहाँले बताउनुभयो।

वाङ यीले पैचिङमा मंगोलियाका विदेश मन्त्री चोगटबाटार दामदिनसँगको वार्तापछि पत्रकारद्वारा सोधिएको कोरियाली प्रायद्वीपको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

हालै उत्तर कोरियाले पुन क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको छ। अमेरिका लगायत मुलुकहरुले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउन खोजेका छन्। यसबारे चर्चा गर्दै वाङ यीले यस कुराप्रति चीनलाई खेद लागेको कुरा प्रकट गर्नुभयो।
