चिनियाँ ठेकेदार कम्पनीको सहयोगमा पोखरा विमानस्थल निर्माण जारी

ram naam satya

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ। पहिलो चरणमा जमिन कटान र सम्याउने काम थालेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईको टोलीले विमानस्थल निर्माणको ६ प्रतिशत काम सकिएको जनाएको छ। निर्माण कार्यलाई तीव्रता दिन चीनबाट ल्याइएका ४० वटा ट्रिपर, रोलर, एक्साभेटर, डोजरलगायत निर्माण सामग्रीमध्ये २० वटा पोखरा आइपुगेको र कामले गति लिएको हो।

बाँकी २० वटा निर्माण सामग्री भारतको कोलकाता बन्दरगाह हुँदै छिट्टै पोखरा ल्याइने ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जानकारी दिनुभयो।

यसअघि ४५ वटा ट्रिपर, रोलर, एक्साभेटर, डोजरलगायत निर्माण सामग्री प्रयोग हुँदै आएको थियो। निर्माण सामग्री थपिएसँगै ३५ जना मजदुर पनि काममा थपिएका छन्। काम सुरु भएको ७ महिना भए पनि ४ महिनादेखि मुख्य जमिनमा काम सुरु भएको र यो अवधिमा वार्षिक लक्ष्यको ३५ प्रतिशत काम सकिसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनंकर्मीले जानकारी दिनुभयो।

वर्षाको समयमा जमिन सम्याउन अप्ठ्यारो हुने भएकाले त्यतिबेला टर्मिनल बिल्डिङ र रन–वे निर्माणको काम गर्ने गरी अहिले जमिन सम्याउने काम जोडतोडसाथ भइरहेको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत चापागाईंले जानकारी दिनुभयो। जेठसम्म ८० प्रतिशत माटोको काम सकिने उनले बताए। विमानस्थल निर्माण गर्न चिनियाँ ५० जना, नेपाली ५० प्राविधिकका साथै १ सय ३५ जना मजदुर काममा खटिएका छन्।

स्थानीय सरकार, स्थानीय नागरिकले विमानस्थल निर्माण गर्न देखाएको तदारुकता र सहयोगले निर्माण कार्यमा तीव्रता आएको चापागाईंले बताउनुभयो। कुनै बाधा व्यवधान नआए र सबै क्षेत्रबाट यस्तै सहयोग रहे तोकिएको मितिभन्दा अघि नै विमानस्थल निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत सरकारलाई दिनुपर्ने सर्त भएको ईपीसी मोडलमा सीएएमसीईले ठेक्का लिएको हो।

निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ। प्रधानमन्त्री केपी ओलीले ०७३ साल वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए। त्यसअघि उनकै चीन भ्रमणका बेला चैत ८ गते विमानस्थल निर्माण गर्न दुई देशीय ऋण सम्झौता भएको थियो। झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिएपछि काम सुरु भएको हो।

साविक छिनेडाँडामा झन्डै ३७ सय रोपनी जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। सरकारले ०३१ र हालै गरी दुई चरणमा जमिन अधिग्रहण गरेको हो। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान गर्न सक्नेछन्। २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउने–जाने ती विमानको यात्रु क्षमता २ सय सम्मको हुने अन्नपूर्ण पोस्टले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *