चिनियाँ टेलिभिजनमा लुम्बिनीबारे प्रशारण

ram naam satya
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बाहय पर्यटन प्रवद्र्धनका गर्ने उद्देश्यले चीनको प्रभावशाली टेलिभिजन छङ्तुबाट लुम्बिनीका आकर्षणहरू प्रसारण गरिएको छ । करिब ३ मिनेटको ‘आध्यात्मिक केन्द्र’ नामक कार्यक्रम डिसेम्बर र जनवरीमा गरी १० पटक भन्दा बढी प्रसारण गरिएको हो । लुम्बिनीका आकर्षणलाई समेटेर चिनियाँ भाषामा बनाइएको ‘आध्यात्मिक केन्द्र’ समाचार र कार्यक्रमबीचमा प्रसारण गरिएको कान्तिपुरले लेखेको छ ।

कार्यक्रममा लुम्बिनीको प्रमुख आकर्षण मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरी र श्रद्धापूर्वक उपासकले गरेको पूजाआजा देखाइएको छ। लुम्बिनीको हरियाली, मनमोहक वातावरण, चिनियाँ विहार, सूर्योदय र सूर्यास्तका रोमाञ्चक दृश्य पनि देखाइएका छन् । लुम्बिनी विकास कोषका सद्भावना दूत तथा पर्यटनविद् विक्रम पाँडे काजी र नेपाल पर्यटनबोर्डका सञ्चार परामर्शदाता शरद प्रधानको अन्तर्वार्तासमेत दृश्यमा समावेश गरिएको छ ।

‘उत्तरी छिमेकी चीनका पर्यटक नेपालमा आकर्षित गर्नु नै मुख्य उद्देश्य हो ।’ टेलिभिजनकी वरिष्ठ सम्पादक बेट्टी च्याङले वी च्याटमा भनिन्, ‘कार्यक्रम प्रसारण भएपछि राम्रो प्रतिक्रिया पाएकाले थप उत्साहित भएका छौं ।’ उनले छिमेकी देश नेपालका पर्यटकीय स्थल चिनियाँ पर्यटकका लागि राम्रो गन्तव्य बनोस् भन्ने कामनासहित आफूहरू लागिपरेको जनाइन् । च्याङले भनिन्,’ ‘कार्यक्रम प्रसारणपछि धेरै चिनियाँले लुम्बिनी भ्रमणबारे सोधखोज गरेका छन् ।’

यसअघि टेलिभिजनले ‘जंगल एड्भेन्जर’ नाममा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, जंगल सफारी र नौकाविहारका आकर्षण पनि प्रसारण गरेको थियो । त्यस्तै, काठमाडौंको स्वयम्भू, भक्तपुर र पाटनका ऐतिहासिक कला संस्कृतिका पर्यटकीय आकर्षणलाई ‘नेपालमा स्वागत छ’ शीर्षकमा प्रसारण गरेको थियो । नेवारी नयाँ वर्ष र संस्कृति पनि त्यसमा समेटिएको छ ।

चिनियाँ पर्यटकलाई शान्ति र बुद्ध, वाइल्ड लाइफ, पर्यावरणीय पर्यटन एवं ऐतिहासिक र पुरातात्त्विक कला संस्कृतिका विभिन्न विषयमा जानकारी दिन कार्यक्रम उत्पादन तथा प्रसारण गरेको छेन्दु रेडियोकी संवाददाता लेन सिजेले बताइन् । ‘आफ्नो रुचिअनुसार चिनियाँ पर्यटकले नेपाल घुम्ने योजना बनाउन थालेका छन्,’ उनले भनिन्, ‘धेरै सुझाव र धन्यवाद पाएकाले कार्यक्रमको राम्रो भएको महसुस गरेका छौँ ।’

टेलिभिजनका साथै छेन्दु रेडियो र अनलाइनबाट पर्यटकीय गन्तव्यबारे समाचार तथा श्रव्यदृश्य रिपोर्ट प्रकाशन/प्रसारण गरिएको थियो । श्रव्यदृश्य, फोटो र विवरण संकलनका लागि टेलिभिजन बोर्ड सदस्य जिन लिङको नेतृत्वमा टेलिभिजन, रेडियो र अनलाइनका ६ सञ्चारकर्मीले दुई महिनाअघि लुम्बिनीको भ्रमण गरेका थिए ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *