चिनियाँ उद्योगीद्वारा सिद्धार्थनगरमा लगानी सम्भाव्यता अध्ययन

ram naam satya
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा चीनले लगानीसम्बन्धी सम्भाव्यता अध्ययन गरेको छ। लगानी सम्भाव्यता अध्ययन गर्न आएको एक चिनियाँ समूहसँग सिद्धार्थनगर नगरपालिकाले उपयुक्त क्षेत्र पहिचान गरी लगानीका लागि आग्रहसमेत गरेको कारोबार अनलाइनले लेखेको छ। नगर प्रमुखसहित व्यवसायी तथा सरोकारवालाहरूले सिद्धार्थनगरमा अवसर र सम्भावना अत्यधिक रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन्।

चीनको साङ्षी प्रान्तका सरकारी र सिंगोयाका उद्योगीको टोलीले यस क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गरेको हो। उक्त प्रान्तको पाउची सहरसँग गत वर्ष सिद्धार्थनगरले भगिनी सम्बन्ध विस्तार गरेको थियो। छलफलमा चिनियाँ सरकारी टोलीका प्रमुख चानछिङ सीले भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको भन्दै लगानी गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो। चिनियाँ टोलीले यस क्षेत्रमा पर्यटन, औद्योगिक र कृषि क्षेत्रमा लगानीका लागी इच्छा देखाएको उहाँले जानकारी दिनुभयो।

साङ्षी प्रान्त चीनको मात्र नभइ विश्वकै ध्यान आकर्षित गर्ने प्रान्त भएको उल्लेख गर्दै उहाँले त्यहाँको कृषि उत्पादन, विद्युतीकरण, औद्योगिकीकरण लगायतबाट समेत सिक्नसक्ने भन्दै त्यहाँ भएका औद्योगिक तथा अन्य क्षेत्रको विकासको अवलोकन र भ्रमणका लागि नगरपालिकालाई निमन्त्रणा दिनु भएको थियो। सिंगोयाका उद्योगी सी छिङ क्वारले औद्योगिक उत्पादनमा चीनले गरेको विकास आफूहरूले नेपालमा पनि विस्तार गर्न चाहेको बताउनुभयो। अन्य क्षेत्रसँगै औद्योगिक विकास देश विकासमा मेरुडण्ड भएको प्रस्टाउँदै उहाँले यहाँको औद्योगिक विकासमा सहयोग गर्नसमेत आफूहरू तयार रहेको बताउनुभयो। उहाँले यहाँको सरकारी र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने समेत बताउनुभयो। लुम्बिनीको मात्रै प्रचार गर्न सके नेपालले यसबाट ठुलो लाभ लिन सक्ने उहाँले बताउनुभयो।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्र्रसाद अधिकारीले नेपालको प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गइरहेको यो जिल्लामा बुद्धको जन्मस्थल लुम्बिनी, निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा–व्यापारिक मार्ग विस्तार, कालीगण्डकी करिडोर, विशेष आर्थिक क्षेत्र (सेज)को सञ्चालनको तयारी, केरुङ–लुम्बिनी रेलमार्गजस्ता योजनाहरू रहेका कारणले यो क्षेत्रमा लगानी गरेर चिनियाँ टोलीले समेत ठूलो फाइदा लिनसक्ने बताउनुभयो। उहाँले मुलुकमा पछिल्लो समय राजनीतिक स्थिरता कायम हुँदै गएकाले लगानीको वातावरणसमेत सिर्जना भएको बताउनुभयो। नगरपालिकाका वैदेशिक सल्लाहकार एवं संस्कृतिविद् प्रा.डा. गीतु गिरीले शताब्दीदेखिनै नेपाल र चीनबीच घनिष्टता रहेको चर्चा गर्दै मित्रतालाई लगानीमा बदल्न आग्रह गर्नुभयो। उहाँले चीनमा लाखौं बौद्धमार्गीहरू रहेको र तिनीहरूलाई बुद्धजन्मस्थल लुम्बिनीमा कम्तीमा एकपटक दर्शन गराउने वातावरण सिर्जना गराउन टोलीलाई आग्रह गर्नुभयो। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले रुपन्देही पर्यटन, कृषि, उद्योग क्षेत्रमा प्रचर सम्भावना बोकेको क्षेत्र भएकाले चिनियाँ व्यवसायीहरूलाई लगानी गर्न सुझाउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *