

चीनको आन्हुइ प्रान्तका चाङ यौयी गत असारदेखि नेपालमा परोपकारी स्वयंसेवा गरिरहनु भएको थियो। उहाँ गत असोजमा पोखरा घुम्न जाँदा रोजलाई पहिलोपटक देख्नु भएको थियो। गरिबीको कुचक्रमा परेका रोज पाँच जनाको परिवारसँगै झुप्रो घरमा बस्दथे। उनको घरसम्मै पुग्नु भएको चाङले सबै अवस्था बुझेपछि उपचारमा सहयोग गर्ने सोचाइमा पुग्नु भएको थियो। रोजका अभिभावकको वार्षिक आम्दानी दस हजार रुपैया मात्र रहेको चाङ बताउनुहुन्छ।
चाङले रोजको घरायसी अवस्था र आँखाको अवस्थाको जानकारी गराउँदै आफ्नो प्रान्तको आँखा अस्पताल र चिकित्सकलाई उपचारमा सहयोग गर्न अनुरोध गर्नुभयो। उहाँको अनुरोधलाई अस्पतालले स्वीकार गरेपछि पोखराका रोज हजारौँ किलोमिटर टाढा चीनको पूर्वी क्षेत्रमा पर्ने आन्हुई प्रान्तको हफेईमा गएर आँखाको उपचार गराउन सफल भएका हुन्।
चाङले रोजलाई चीनमा ल्याएर उपचार गराउने सोचाइ त बनाउनुभयो तर सोचेजस्तो सजिलो थिएन। रोजको राहदानी बनाउनु पर्ने थियो अनि उनको साथमा कोही अभिभावक पनि साथमा ल्याउनु पर्ने थियो। अन्ततः रोज र उनकी दिदी सुष्मा परियारसँगै काकाकी छोरी दुर्गा परियारको राहदानी बनाउन चाङले सहयोग गर्नुभयो। चाङले नै उनीहरुलाई चिनियाँ भिसा दिलाए र तिनैजना एक हप्ता अगाडि चीनको आन्हुइ प्रान्त आइपुगे।

४ वर्षको उमेरसम्म राम्रो आँखा देख्ने रोजका आँखामा जन्मदेखि नै एक प्रकारको फुलो परेको थियो जसलाई समयमै उपचार गर्दा सजिलै ठीक हुन सक्थ्यो। तर आर्थिक श्रोत र चेतनाको अभावले गर्दा उनको उपचार भएन। फलतः उनको ज्योति बिस्तारै हराउँदै गयो। रोजको आँखाको शल्यक्रिया गरेका हफेई चम्किला आँखा ‘हफेइ ब्राइट आइ’ अस्पतालका डाक्टर फु लिनलिनले गत मंगलबार रोजको आँखाको शल्यक्रिया गर्नु भएको हो। ‘रोजको देब्रे आँखाले केही प्रकाश देख्न सक्थ्यो तर दाहिने आँखाले केही पनि देख्दैनथियो। शल्यक्रियापछि रोजको देब्रे आँखाको पूरै ज्योति फर्किएको छ। अहिले उनी राम्ररी देख्न सक्छन्।’ शल्यक्रियामा सहभागी डा फु भन्नुहुन्छ ‘यदि शल्यक्रिया गर्न अरु केही समय ढिला भएको भए उनको दुवै आँखाको ज्योति पूरै गुम्ने थियो र जीवनभरका लागि उनी दृष्टिबिहिन हुने थिए।’

सो अस्पतालले रोजको आँखाको शल्यक्रिया निशुल्क गरेको मात्र होइन पोखरादेखि हफेईसम्मको विमान टिकट खर्चका लागि आफ्ना कर्मचारीहरुबाट १० हजार चिनियाँ युआन अर्थात् डेढ लाख रुपैयाँभन्दा बढी नगद सङ्कलन गरेर सहयोग पनि गरेको छ। हफेईबाट काठमाडौँसम्मको विमान टिकट भने चाइना इस्टर्न एयरलाइन्सले निशुल्क उपलब्ध गराएको छ। अस्पताल र एयरलाइन्सको यस्तो सहयोगप्रति आन्हुइमा रहेका नेपाली विद्यार्थीहरुले सामूहिक रुपमा ब्यानरसहित हिजो आइतबार बिहान दुवै निकायलाई धन्यवाद प्रकट गरेको आन्हुइको हेफेइस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सार्वजनिक प्रशासनमा पिएचडी गरिरहेका लोचनकुमार बटालाले बताउनुभयो। रोज र उनका दिदीहरु पनि आइतबार हफेइबाट उडान गरी खुन्मिङमा बास बसेर आज सोमबार अपरान्ह काठमाडौँ फर्किएका छन्।
रोजको उपचारमा चिनियाँको सहयोग गरिब दुखीको सेवामा अरुलाई प्रेरणा दिने र दुई देशमा जनस्तरको सहयोगमा साँचो नमूना बनेको बटालाले बताउनुभयो।
