चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा १८ वटा पुल बन्दै

ram naam satya

चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा साना ठूला गरी जम्मा १८ वटा पुल निर्माण हुने भएका छन्। अठार वटा पुलमध्ये कतिपय निर्माणाधीन अवस्थामा छन् भने कतिपय ठेक्कापट्टाको क्रममा रहेको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पुल महाशाखाका इन्जिनियर विमल बस्नेतले दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। महाशाखाका अनुसार, काठमाडौँ जिल्लामा चार, ललितपुर जिल्लामा आठ र भक्तपुर जिल्लामा छ वटा पुल निर्माण हुने भएको हो।

सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख देवकुमार तामाङले काठमाडौँमा अहिले तीन वटा पुल निर्माणाधीन अवस्थामा र एउटा पुल ठेक्कापट्टाको क्रममा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, टोखा रमणवस्तीस्थित विष्णुमतीमा, टोखा नगरपालिका–६ विष्णुमतीमा र तीनथानाबाट कीर्तिपुर जोड्ने बल्खुखोलामा पुल निर्माणाधीन अवस्थामा रहेको छ। त्यसैगरी, उहाँले बागमती नदी पुल (सेतीदेवी र ललितपुरको छम्मी गाउँ जोड्ने पुल) निर्माणका लागि ठेक्कापट्टाको क्रममा रहेको बताउनुभयो।

सडक डिभिजन कार्यालय, ललितपुरका प्रमुख प्रकाशचन्द भण्डारीले चालु आर्थिक वर्षमा ललितपुर जिल्लामा पाँच वटा पुल निर्माणाधीन अवस्थामा रहेका र तीन वटा पुल निर्माणका लागि ठेक्कापट्टाको क्रममा रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार, कोट्कु खोला पुल, इमाडोल (बालकुमारी) र ललितपुर नगर जोड्ने, नख्खु खोला पुल (सैँबु र बागडोल बीचमा पर्ने), मनोहरा नदी पुल (एन्फाबाट ललितपुर), गोदावरी पुलको पहुँच सडक (लुभुको सिसमडोलमा पर्ने), कर्मनाशा पुल (टौखेल पुलबाट टाँसीचोक हुँदै चापागाउँ जाने बाटोमा) निर्माणाधीन अवस्थामा रहेका छन्। उहाँले अन्य तीनवटा पुल निर्माणका लागि ठेक्कापट्टाको क्रममा रहेको रहेको जानकारी दिनुभयो।

काठमाडौँ (शङ्खमूल) ललितपुर जोड्ने स्थानमा बागमती नदीमा चालु आर्थिक वर्षमै पुल निर्माण गर्ने जिम्मेवारी डिभिजन कार्यालयले पाएकोमा सो ठाउँ पुरातात्विक महत्वको रहेको भन्दै उहाँले पुरातत्व विभागले सो ठाउँमा पुल निर्माणमा रोक लगाएको जानकारी दिनुभयो। पुरातत्व विभागको रोककै कारण सो ठाउँमा पुल निर्माण कार्य अहिलेलाई रोकिएको छ।

सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा भक्तपुर जिल्लामा छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार, मनहरा पुल (चाङ्गुनारायण–साँखु सडक), ताथली पुल (भक्तपुर–नाला–बनेपा), हनुमन्ते पुल (ठिमी–दधिकोट), मनहरा खोला पुल (गोठाटार–हरहर महादेव), मनहरा पुल (चाङ्गुनारायण–ब्रह्मखेल सडक) र मनहरा पुल (इन्द्रायणी–चाङ्गुनारायण) निर्माणाधीन अवस्थामा रहेको छ।

सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२२) अन्तर्गत मुलुकका विभिन्न भागमा सडक निर्माण गरिहेको छ। २० वर्षे यो दीर्घकालीन सडक गुरुयोजनाअनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक तथा पुल सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *