

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले जारी गर्नुभएको सन्देशमा सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवम् उमङ्ग बढाउँदै नेपालीबीचको एकता, सद्भाव एवम् मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
शेर्पा समुदायले मनाउने चाडपर्व र साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको बताउँदै उहाँले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनबाट विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भएकाले यसतर्फ सबैको ध्यान पुग्न आवश्यक भएको सन्देशमा व्यक्त गर्नुभएको छ

उपराष्ट्रपति नन्दबहादुर पुनले शेर्पा समुदायको महान् चार्ड ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वका माध्यमबाट नेपालीको आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ।
