गौतमबुद्धको अष्ठधातु रहेको भग्नावशेष फेला

ram naam satya
भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्भेको क्रममा भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेको नेपालखबर अनलाइनले लेखेको छ।

भगवान् गौतमबुद्धका सातवटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ। रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल जियोफिजिक्स सर्भे गरिएको हो। सर्भेका क्रममा स्तुपको उत्तरपश्चिम कुनादेखि केही मिटर बाहिर ४० मिटर लम्बाई र २५ मिटर चौडाई आकारको प्राचीन पोखरी र करिब ६० मिटर लम्बाइ र ३० मिटर चौडाइको प्राचीन विहारको भग्नावशेष फेला परेको लुम्बिनी विकास कोषका पुरातत्वविद् कृष्ण केसीले जानकारी दिनुभयो।

बेलायतको डुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले सर्भे गरेको हो। जमिनमुनिको एकदेखि डेढ मिटर सतहमा रहेका वस्तु अवशेष, पुरातात्विक भवन, प्राचीन पोखरी, सडकलगायतको संरचनाको नोक्सान नहुनेगरी पत्ता लगाउन यो सर्भे गरिएको थियो। बृहत्तर लुम्बिनीको अध्ययन अन्वेषणको क्रममा सन् २०११ देखि लुम्बिनी, कपिलवस्तुलगायतका स्थानमा गरिँदै आएकोमा सर्भे यस वर्ष रामग्राममा गरिएको हो।

सर्भेबाट फेला परेको बुद्धसँग सम्बन्धित पोखरी र विहारलाई महत्वपूर्ण उपलब्धि मानिएको छ। यसबाट अव आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुने केसीले बताउनुभयो। सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ। यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सर्भे गरी पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो।

त्यसबेला सो स्थानमा रहेका केही जग्गा निजी व्यक्तिका भएकाले त्यसलाई अगाडि नबढाएको तर अहिले कोषले जग्गा किनिसकेकाले अब त्यसको संरक्षण हुने कोषका पुरातत्वविद् केसीको भनाइ छ। बेलायतको डुरह्याम विश्वविद्यालयका जियोफिजिक्स सर्भे विज्ञ प्रोफेसर डंकनको नेतृत्वमा रामग्राम स्तुप क्षेत्रमा सर्भे गरिएको हो। यसैगरी, स्तुपकोे वरपरका खेतमा अहिले पनि भगवान् गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक महत्वका इँटालगायतका वस्तु भेटिने गरेका छन्।

आगामी वर्ष स्तुप वरपरको क्षेत्रमा बृहत् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ। यसले अब रामग्राम स्तुपको विकास तीव्रगतिमा हुने आशा पलाएको छ। रामग्राम स्तुपका ज्ञाता नारद यादवका अनुसार अहिले फेला परेका भनिएका पोखरीबाहेकका अन्य भग्नावशेष वि.सं. २०५९ मा गरिएको पछिल्लो उत्खननमै भेटिएका थिए। त्यसबेलाको उत्खननमा पूर्वी क्यानल निस्केको र त्यसैको नजिकमा इनार पनि देखिएको यादवको भनाइ छ। रामग्राम स्तुपमा वि.सं. २०५४ देखि उत्खनन शुरु गरिएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *