

‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने अभियानलाई गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउनेबारे अभियान सुरु गरिने भएको छ। गत शनिबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी यो अभियानको सबै तयारी पूरा भएको जनाइएको छ। राजधानीको टुँडिखेलमा आउँदो शनिबार करिब ७५ हजार नेपालीको सहभागितामा बुद्धमन्त्र पढिने र कन्सर्ट गरिने आयोजक विश्व कीर्तिमानी परिषद्का वरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।
कार्यक्रमको मूल नारा ‘लुम्बिनी नेपाल, द वर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड द फाउन्डेसन अफ बुद्धिज्म’ राखिएको कार्यक्रममा बताइयो। प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने कार्यक्रममा राजेश हमाल, डा. भोला रिजाल, निखिल उप्रेती, दीपक विष्ट, इन्दिरा राना, मेघा चौधरी, रवि लामिछानेलगायतको साथ रहनेछ भने नेपाल आइडलहरू बुद्ध लामा, निशान भट्टराई, प्रताप दाससँगै कलाकारहरू मनोज गजुरेल, जितु नेपाल, धीरज राई, आनन्द कार्की, राधिका हमाल, प्रकाश तिमिल्सिनालगायतको हास्य एवं सांगीतिक प्रस्तुति रहने बताइएको छ। पत्रकार सम्मेलनमा बोल्दै अभियानका प्रमुख सल्लाहकार एवं पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धको जन्मस्थान र बुद्धत्व प्राप्त गरेको ठाउँबारे भ्रम सृजना गर्न खोजिएकाले यो कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो।

कार्यक्रमका लागि ६० हजार पास वितरण भइसकेको र बाँकी १५ हजार पास टुँडिखेल गेटमै दिइने अभियानका अध्यक्ष दीपक शर्मा बजगाईंले जनाउनुभयो। ‘४ वटा मूल गेट र ४० वटा सहायक गेट बिहान ११ देखि दिउँसो दुई बजेसम्म खुला हुनेछ,’ उहाँले भन्नुभयो, ‘क्युआर कोडबाट स्क्यान गरी गणना गरिनेछ।’ सुरक्षाका निम्ति सेना र प्रहरीको परिचालन हुनुका साथै खानेपानी, स्वास्थ्य सेवा, शौचालयलगायत अत्यावश्यक सेवाको व्यवस्थासमेत हुने उहाँले जनाउनुभयो।

