

चीन सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई १७ जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएको छ। शुक्रबार अस्पतालले १० औं समूहका १७ जनालाई बिदाइ गर्दै ११ औं समूहलाई स्वागत गरेको छ। नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार हरेक वर्ष चिनियाँ टोली नेपाल आउने गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रकाशराज न्यौपानेले जानकारी दिनुभयो।
सुरुसुरुमा अस्पतालमा आवश्यक दक्ष चिकित्सकको अभाव हुँदा नेपाल सरकारले नै चीन सरकारसँग सम्झौता गरेर चिकित्सक माग गरेको थियो। त्यसपछि चीन सरकारले निरन्तर निःशुल्क सहयोग गर्दै आएको छ। चीन सरकारसँग हरेक दुई÷दुई वर्षमा नेपाल सरकारले सम्झौता नवीकरण गर्दै आए पनि कर्मचारी भने हरेक वर्ष जाने-आउने भइरहेको अस्पतालका कार्यकारी निर्देशक डा विजयराज आचार्यले बताउनुभयो।

भरतपुर महानगरपालिका पनि अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्ने विषयमा सकारात्मक देखिएको छ। महानगरकी प्रमुख रेणु दाहालले आवश्यक सहयोग गर्न महानगर पूर्ण रूपमा तयार रहेको बताउनुभयो।

करिब दुई सय शैड्ढया क्षमताको अस्पतालमा अहिले क्षमताभन्दा बढी बिरामी आउने गरेका छन्। जसले थप दुई सय शैय्या सञ्चालनको लागि नयाँ भवन निर्माण कार्य भइरहेको छ।चीन सरकारकै सहयोगमा २०५६ सालमा बनेको अस्पताल क्यान्सर रोगको उपचार हुने एक मात्र सरकारी अस्पताल हो। अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार स्थापनाकालदेखि नै यहाँ हरेक वर्ष चीन सरकारले विज्ञ चिकित्सक पठाउने गरेको छ।
