

चीनका लागि नेपाली राजदूत लीलामणी पौड्यालले हङकङमा नेपाल र चीनको सम्बन्ध अझ सुमधुर र बलियो बन्दै गएको बताउनु भएको छ। हिजो आइतबार हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजना गरिएको एक छलफल कार्यक्रममा पौड्यालले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
हङकङस्थित प्रमुख प्रशासकसँग विशेष छलफलपछि राजदूत पौड्यालले यहाँ रहेका नेपाली उद्यमी र व्यापारीसँग त्यसबारे बताउनु भएको हो। सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै राजदूत पौड्यालले चीन र नेपाललाई जोड्ने रेलमार्गका लागि दूतावासको पहलमा बेइजिङबाट प्राविधिक टोली नेपाल पुगेर केरुङ–काठमाडौं–पोखरा रेलमार्गको भौगोलिक अध्ययन गरेको बताउनुभयो। उहाँले रेलमार्गका लागि चीन अब नेपाल सरकारको औपचारिक प्रस्तावको पर्खाइमा रहेको बताउनुभयो।

भूकम्पपछि नेपाल–चीनबीचको तातोपानी नाका सञ्चालनमा आउन कठिनाई भइरहेको बताउँदै पौड्यालले भन्नुभयो, ‘केही दिनअघि तातोपानी नाकाबाट धुलिखेलसम्मको सडक स्तरोन्नतीका लागि चीनले १६ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भैसकेको छ, अब चाँडै तातोपानी नाका सञ्चालनमा आउने छ।’
