

ताप्लेजुङ र पाँचथरको सीमावर्ती कावेली खोलाबाट अर्को काबेली कस्केड जलविद्युत् आयोजना निर्माण हुने भएको छ। अरुणभ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीले ९ दशमलव ९ मेगावाट क्षमताको काबेली कस्केड आयोजना निर्माणको लागि नेपाल विद्युत् प्राधिकरणसित सम्झौता प्रक्रिया अघि बढाएको कान्तिपुर अनलाइनले लेखेको छ।
पाँचथरको याङवरक गाउँपालिका–४ थर्पुस्थित पिपले र ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ थेचम्बोको सिमाना काबेली खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना पूरा भएपछि सहायक आयोजनाको रूपमा अर्को आयोजना निर्माण गर्न लागेको प्रवद्र्धक अरुण काबेली पावर लिमिटेडका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताउनुभयो।

काबेली खोलावाट निर्माण हुने यो चौथो आयोजना हो। काबेली करिडोरमा नेपाल विद्युत् प्राधिकरणमार्फत बुटवल पावर कम्पनीको सहायक काबेली इनर्जी लिमिटेडको प्रवद्र्धन विश्व बैंकको दस अर्ब रुपैयाँ लगानीमा ३७ दशमलव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजना र एक अर्ब ६० करोड रुपैयाँ लगानीमा ९ दशमलव ९ मेगावाटको इलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन्।
अरुण काबेली पावर लिमिटेडको चार अर्ब ३० करोड लगानीमा निर्माणाधीन काबेली बी–१ जलविद्युत् आयोजना आउँदो माघमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी निर्माण कार्य भइरहेको छ।

