काठमाडौंलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी

ram naam satya

काठमाडौं महानगरपालिकाले महानगरलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सार्वजनिक स्थलमा धुमपान नियन्त्रण गर्न १८ महिने अभियान सुरु भएको भन्दै घोषणा सभामा चुरोट भाँचे।
सरकारले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनले स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएको भन्दै २०४९ सालदेखि सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेको थियो। निषेध गरे पनि लुकिछिपी र खुला रूपमै पनि सार्वजनिक स्थानमै धुमपान हुँदै आएको छ। सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोबाको कन्ट्रोल कन्भेन्सन फ्रेमवर्क-२००६ को अनुमोदन गरेको थियो भने सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ समेत जारी गरिसकेको थियो।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीसमेत रहेको महानगर क्षेत्रलाई स्वस्थ सहर (हेल्दी सिटी) मा विकास गर्न धुमपान र सूर्तीजन्य पदार्थ प्रयोगमा नियन्त्रण गरिएको बताउनुभयो। सूर्तीजन्य पदार्थबाट सरकारलाई भएको आम्दानीभन्दा धेरै गुणा बढी असर स्वास्थ्यमा परिरहेकाले यसमा सम्झौता नगर्ने उहाँको भनाइ छ।

चार वर्षअघि गरिएको सर्वेक्षणअनुसार देशको जनसंख्याको करिब ३० दशमलव ५ प्रतिशतले कुनै न कुनै किसिमको धुमपान वा सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने करिब ३६ दशमलव १ प्रतिशत अरुले गर्ने धुमपानबाट घर वा कार्यस्थलमा प्रभावित हुने गरेका छन्। डब्लूएचओको तथ्यांकअनुसार नेपालका करिब १५ प्रतिशत महिला विश्वमा सर्वाधिक धुमपान गर्नेमा पर्छन्।

डब्लूएचओका अनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धुमपान, मदिरापान, अस्वस्थकर आहार र निष्क्रिय जीवनलगायत छन्। पछिल्लो समय नसर्ने रोग विश्वभर नै अकाल मृत्युको मुख्य कारण भएको पनि उसले जनाएको छ।

स्वस्थ सहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० सहरमध्ये काठमाडौं पनि एक हो। धुमपान तथा सूर्तीजन्य वस्तुको प्रयोग घटाएर स्वस्थ सहर बनाउन कार्यक्रम थालिएको धुमपान तथा सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण समितिका सदस्यसचिव हरिकुमार श्रेष्ठको भनाइ छ।

सूर्तीजन्य पदार्थ ऐन २०६८ ले सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना, सिनेमाघर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेस्टुराँ, बार, भोजनालय, चमेनागृह, छात्रावास, रंगशाला, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशालालगायत सार्वजनिक स्थलमा धुमपान र सूर्ती सेवन गर्न नपाइने व्यवस्था गरेको छ। यी स्थानमा धुमपान गरे तत्काल एक सय रुपैयाँसम्म जरिवाना हुन सक्छ।

नियमनकारी निकायले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने सूचना सबैले देख्ने ठाउँमा टाँस्नुपर्नेछ। सार्वजनिक स्थलमा लाइटर, सलाईलगायत सामग्री राख्न पाइँदैन भने चुरोट, बिँडी वा सिगरेटका खिल्लीसमेत बिक्रीवितरण गर्न पाइँदैन। विक्रेताले १८ वर्ष नपुगेका व्यक्ति, गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *