कलाको एपी सेन्टर नेपाल सरेको मात्र हो, यहॉं प्रतिभाहरूको कुनै कमी छैन: गीतकार तामाङ

कलाको एपी सेन्टर नेपाल सरेको मात्र हो, यहॉं प्रतिभाहरूको कुनै कमी छैन: गीतकार तामाङ

ram naam satya

गान्तोक, 28 अप्रेल। ‘पहिला कलाको एपी सेन्टर दार्जीलिङमा थियो। अहिले त्यो एपी सेन्टर सरेर नेपाल पुगेको छ। तर, यसको अर्थ यो होइन कि यहॉं प्रतिभाहरू छैनन्। यहॉं पनि कलाकारहरूको कुनै कमी छैन।’ राजधानी आधारित रेमन्ती सङ्गीत एकाडेमी (आरएसए) को मासिक प्रदर्शन दिवस कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित डा. तामाङले पत्रकारहरूसित कुराकानी गर्दै उक्त कुरा भनेका हुन्।

प्रश्नहरूका जवाफ दिॅंदै गीतकार तामाङले नेपाल देश भए पनि पहिले दार्जीलिङ नै कलाको एपी सेन्टर थियो भने। पछि, बिस्तारै नेपाल कलाको क्षेत्रमा अगाड़ी बढ्दै गएको र कला जगतको विकासको निम्ति नेपालमा उपलब्ध मार्केटका कारण नेपाल आज कलाको एपी सेन्टर बन्न पुगेको मनतव्य उनले व्यक्त गरे। कलाको एपी सेन्टर नेपाल सरे तापनि सिक्किम अनि दार्जीलिङ पहाड़मा प्रतिभाहरूको कुनै कमी नरहेको उनले बताए।

उनले नेपालमा अचानक बढ्दो फिल्म उद्योग तथा नेपाली गीत—सङ्गीतको क्षेत्र विस्तारित बन्दै गएकोले यसलाई पनि एउटा पेशाको रूपमा लिन सकिने अवसरहरू खुलेर गएको बताए। अन्य एक प्रश्नको जवाफमा गीतकार तामाङले लगभग दश वर्षको अन्तरालमा दार्जीलिङको चर्चित मन्त्र ब्याण्डको निम्ति एउटा गीत ‘लाहुरे’ तयार गरेको जानकारी दिए। यसैगरि, एउटा नेपाली फिल्ममा तीनवटा गीतको निम्ति पनि सम्झौता गरिसकेको उनले थप जानकारी दिए।

यस अघि उनले आरएसएका विद्यार्थीहरूलाई सम्बोधन गर्दै जीवनमा सफल बन्नुको निम्ति आत्मविश्वास र अनुशासन अति आवश्यक रहेको बताए। उनले विद्यार्थीहरूलाई ज्ञान छ भन्दैमा घमण्ड नगर्ने र जान्दिन भनेर निराश पनि नबन्ने सुझाउ दिए। उनले भविष्यमा को—के बन्छ भन्ने कुरा भविष्यकै गर्भमा लुकेको छ भन्दै विद्यार्थीहरूका उज्जवल भविष्यको कामना गरे।

आज प्रदर्शन दिवसमा आरएसएका विद्यार्थीहरूले आआफ्नो विधामा वाद्य वादन र गायन कला प्रस्तुत गरेका थिए। यसैगरि, आज विभिन्न सङ्गीत विधाका विद्यार्थीहरूलाई स्टुडेन्ट अफ द मन्थले सम्मानित गरिएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *