

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलनले विभिन्न मुलुकहरूबीचको असल सम्बन्धको विकास गर्दै समाजहरूबीचको बलियो सम्बन्ध स्थापित गर्ने तथा जनस्तरीय सम्बन्धलाई बढाएर शान्ति, सद्भाव र समृद्धि हासिल गर्नका लागि पनि उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ।
शुक्रबार सिआरआई नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा राजदूत पौड्यालले भन्नुभयो, ‘एसियाको समृद्धि भनेको विश्व समृद्धिका लागि योगदान हो। एसियाको शान्ति भनेको विश्व शान्तिका लागि योगदान हो।’

सत्रौं शताब्दीसम्म चीन नै एसियाली सभ्यताको केन्द्रमा रहेको बताउँदै उहाँले एसियाली सभ्यता भनेको शान्ति र सद्भावको सन्देश बोकेको सभ्यता भएको बताउनुभयो। एसियाली सभ्यतामा गौतम बुद्ध र कन्फ्युसियसजस्ता महान् चिन्तकहरूको ठूलो प्रभाव रहेकाले एसियाली सभ्यताहरूको पुनर्जागरणबाट सामाजिक मूल्य मान्यता पनि पुनस्थापित हुने विश्वास उहाँले प्रकट गर्नुभयो। यसबाट एसियाको विकास, समुन्नति र शान्तिमा योगदान पुग्ने पनि उहाँले ठहर गर्नुभयो। एसियाली सभ्यतामा धेरै विविधता रहेकाले यो सभ्यता आफैंमा पूर्ण रहेको राजदूत पौड्यालको भनाइ थियो।

चीन संसारकै प्राचीन र उन्नत सभ्यता भएको मुलुकमध्ये एक भएको बताउँदै राजदूत पौड्यालले नेपाल पनि उस्तै सभ्यता बोकेको मुलुक भएकाले नेपालका लागि पनि उपयोगी हुने बताउनुभयो। यस्तो खालको संवाद गर्नाले सबै मुलुक लाभान्वित हुनसक्ने उहाँले बताउनुभयो। चीनले साधनश्रोत जुटाएर एसियाली सम्मेलन गर्नु सबैका लागि फाइदाजनक भएको पनि राजदूत पौड्यालको निष्कर्ष छ। आर्थिक समृद्धितर्फ अघि बढिरहेको चीनले संस्कृति सभ्यताप्रति चासो देखाउँदै यस प्रकारको मानवहितको विषयमा छलफल गराउने पहल लिनु खुशीको विषय भएको पनि उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘चीनले सभ्यता सम्मेलन गरेर मानवजातिकै लागि उपयोगी पहल लिइरहेको छ।’
शान्तिपूर्ण समाज देख्न चाहने जो कोहीका लागि पनि सभ्यता सम्मेलनले सकारात्मक सन्देश दिने बताउँदै राजदूत पौड्यालले समय अनुरूप परम्परागत विचारहरू पुस्तान्तरण हुँदै गएकाले शान्तिप्रेमी समाज निर्माणका लागि यस सम्मेलनले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो।
पैचिङमा हुन लागेको एसियाली सम्मेलनमा विभिन्न एसियाली देशका प्रतिनिधिहरू सहभागी हुँदैछन्। सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूले आआफ्नो देशको प्रतिनिधित्व गरेर सभ्यताका बारेमा कुराकानी गर्नेछन्। यस सम्मेलनमा भाग लिनका लागि नेपालबाट पनि प्रतिनिधि टोली पैचिङमा आएको छ। राजदूत पौड्यालका अनुसार नेपालको सभ्यता पनि चीनजत्तिकै प्राचीन र गहन भएकाले दुवै मुलुकबीच आदानप्रदानका लागि राम्रो अवसर रहेको बताउनुभयो।