

नेपालले १६ औं र १७ औं एसियन गेम्समा नेपाल एक मात्र कास्यपदकमा चित्त बुझाउनु परेको थियो। चीनको क्वाङचाउमा भएको १६ औं एसियाडमा बक्सिङका दीपक महर्जन र १७ औं इन्चोन एसियाडमा करातेकी बिमला तामाङले नेपाललाई पदक विमुख हुनबाट जोगाएको नेपाल खबर अनलाइनले लेखेको छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले इन्डोनेसियामा आगामी अगष्टमा हुने १८ औं एसियन गेम्समा नेपालका तर्फबाट परिणामुखी खेलहरुको मात्र सहभागिता हुने जनाउनु भएको छ। १८ औं एसियन गेम्स आगामी अगष्ट १८ देखि सेम्टेम्बर २ सम्म इन्डोनेसियाको जकार्ता र पलमबग शहरमा आयोजना हुँदैछ। ‘एसियन गेम्समा ४० खेलका ६६ विधा अन्तर्गत ४६२ इभेन्टमा प्रतिस्पर्धा हुदैछन्,’ उहाँले भन्नुभयो ‘नेपालले तीमध्ये नतिजामुखी खेलहरुलाई प्रतिस्पर्धामा उतार्नेछ।’

विगतमा नेपालको तर्फबाट एसियन गेम्समा सहभागी हुने खेलाडी र खेलको संख्या उल्लेख्य रहेपनि नतिजा निकै कमजोर रहेको स्मरण गर्दै उहाँले अब नतिजा उन्मुख खेललाई मात्रै सहभागिता गराइने दोहोर्याउनुभयो।
