एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट खेल्ने

ram naam satya
  नेपालले पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै छ। यसअघि टीट्वेन्टी विश्वकपमा अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा पहिलोपटक भाग लिन लागेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। टीट्वेन्टी विश्वकपमा अहिलेसम्म नकआउट चरणमा पुग्न नसकेको नेपालले एकदिवसीय विश्वकपलाई भने यादगार बनाउने लक्ष्यमा छ। आगामी जनवरी ७ देखि २१ सम्म हुने विश्वकप पाकिस्तान र दुबईले संयुक्त रूपमा आयोजना गर्दैछन्। नेपालले पाँच महिनादेखि आफ्नो तयारी गरिरहेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरले बताउनुभयो।

        यसअघिका चौथो संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको नेपालले यो सहभागितालाई ठूलो सफलताका रूपमा लिएको छ। सीमित स्रोतसाधनमा नेपाली नेत्रहीन क्रिकेट आफ्नो सहभागितालाई नै ठूलो सफलताका रूपमा लिन बाध्य छन्। यद्यपि, नेत्रहीन क्रिकेट संघले अपर्याप्त स्रोतमा आफ्नो छोटो समयको तयारी गरेको थियो। भदौमा टोली छनोट गरेको संघले खेलाडीलाई १५ दिन विशेष क्याम्पमा राखेको थियो। संघ, खेलाडी र प्रशिक्षक कम लगानी र थोरै समयमै विश्वकपमा ऐतिहासिक सफलता देखेको बताउँछन्।

यसपटकको विश्वकपमा सुरक्षाका कारण ६ राष्ट्रको मात्र सहभागिता छ। दुई देशबीच चिसो सम्बन्ध रहे पनि भारतले भने पाकिस्तान भ्रमण गर्दैछ। वेस्ट इन्डिज, साउथ अफ्रिका र इङ्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा सहभागिता रद्द गरेका छन्। आयोजकले एसियाका राष्ट्रबाहेक अन्य देशको खेल दुबईमा राखे पनि तीन देशले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन्। राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले दुई खेल जित्ने सके सेमिफाइनल यात्रा तय गर्नेछ। नेपाली टोलीका प्रशिक्षक रिजन प्रजू र कप्तान कृतन श्रेष्ठ दुवाल नेपालको सेमिफाइनल यात्रा टाढा नरहेको बताउनुहुन्छ।

‘यसपटक हामीले धेरै मेहनत गरेका छौं। कमजोर पक्ष ब्याटिङमा पनि निकै सुधार आएको छ। भारत र पाकिस्तानबाहेक अन्य देशसँगको जित खासै टाढा छैन। यसअघि पनि हामीले बलियो मानिएका साउथ अफ्रिका र न्युजिल्यान्डलाई हराएका छौं’, प्रशिक्षक रिजन भन्नुहुन्छ। कप्तान कृतन प्रशिक्षकको भनाइमा समर्थन गर्दै भन्नुहुन्छ, ‘जितका लागि नतिजाभन्दा पनि मेहनत आवश्यक हुन्छ। हामी उत्कृष्ट खेल्नेछौं।’ नेपालले पहिलो खेल जनवरी ८ मा पाकिस्तानको लाहोरमा बंगलादेशसँग खेल्नेछ।

यसअघि सन् २०१२ को टीट्वेन्टी विश्वकपमा बंगलादेशलाई हराए पनि अहिले बंगलादेशले ठूलो फड्को मारेका संघका अध्यक्ष घिमिरेले बताउनुभयो। सन् २०१७ को टीट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई हराए पनि नेपाल नकआउट चरणमा पुग्न असफल भएको थियो। नेपालले जनवरी ९ मा भारतविरुद्ध खेल्नेछ। त्यसको भोलिपल्ट जनवरी १० मा पाकिस्तानविरुद्ध खेल्नेछ।

त्यसपछि नेपाल जनवरी ११ मा दुबई प्रस्थान गर्नेछ। दुबईमा नेपालले चौथो खेल जनवरी १३ मा अस्ट्रेलिया र पाँचौं खेल जनवरी १५ मा श्रीलंकाविरुद्ध खेल्नेछ। यसअघि सन् १९९६ को पहिलो विश्वकप साउथ अफ्रिकाले जितको थियो। सन् २००२ र २०१४ मा भारत तथा सन् २००६ मा पाकिस्तान च्याम्पियन बन्यो। पछिल्लो संस्करणमा भारत विजेता र पाकिस्तान उपविजेता बनेका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *