उपत्यकामा सुरक्षा बढाइयो

ram naam satya
(GMT+08:00) 2017-11-22 16:34:29

        निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको नागरिक अनलाइनले लेखेको छ।

महानगरी प्रहरी आयुक्त कार्यालयबाट प्राप्त जानकारी अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्नसक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएकाले काठमाडौंका निर्वाचन क्षेत्र २ र ३ लाई प्रहरीले सुरक्षा दृष्टिकोणले जोखिमक्षेत्रमा राखेको हो। यी दुई निर्वाचन क्षेत्र सिन्धुपाल्चोकको भोटेचौर र हैबुङसँग जोडिन्छन्। नुवाकोट र धादिङगसँग सीमा जोडिएका निर्वाचन क्षेत्र नम्बर ६ र ७ तथा मकवानपुरसँग जोडिएको क्षेत्र नम्बर १० लाई समेत प्रहरीले सुरक्षा दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ। मकवानपुरसँग सीमा जोडिएको ललितपुरको क्षेत्र नम्बर १ मा विप्लव समूहको सक्रियता रहेको भन्दै प्रहरीले जोखिम सूचीमा राखेर सोही अनुसार सुरक्षा सतर्कता र परिचालन बढाएको छ।

‘मकवानपुर, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकका सीमावर्ती क्षेत्र र उपत्यकाभित्र निर्वाचन विरोधी समूहको चहलपहल हुने क्षेत्र पहिचान गरी सोही अनुसार सुरक्षाक संयन्त्र परिचालन भइसकेको छ,’ आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रमा निगरानीका लागि ३ नम्बर प्रदेश प्रहरी कार्यालयसँग समेत समन्वय भइरहेको छ।’

उपत्यकाबाहिरका जिल्लामा उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेलगत्तै उपत्यकामा सेनाबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० हजार जनशक्ति परिचालित छन्।

निर्वाचनविरुद्ध आतंक फैलाउन उपत्यकाका भित्री सहर, भिडभाड हुने बसपार्क, सिनेमा हल, सपिङ मलमा विष्फोटक पदार्थ राख्न सक्ने आशंकामा विष्फोटक पदार्थ पहिचान गर्ने तालिमप्राप्त कुकुरसहित प्रहरी टोली खटाइएको आयुक्त कार्यालयका प्रवक्ता पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो।

छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र धादिङ र मकवानपुरबाट उपत्यका प्रवेश गर्ने १६ नाका छन्। त्यसमा सवारीसाधनको प्रयोग हुने ८ नाकामध्ये ४ वटामा अत्यधिक चाप हुन्छ। सवारीसाधनको चाप हुने नागढुंगा, दक्षिणकाली, साँखु र जगातीमा तालिमप्राप्त कुकुरसहित विशेष प्रहरी टोली परिचालित छन्। ती नकामा सवारीसाधन जाँचमा मेटल डिटेक्टर र क्लोज सर्किट टेलिभिजनसमेत प्रयोग गरिएको छ। नुवाकोट हुँदै काठमाडौं प्रवेश हुने बालाजु नाकामा समेत सुरक्षा सतर्कता बढाइएको छ। यसअघि आपराधिक समूहले उपत्यका भित्रिन र अपराध गरेपछि बाहिरिन साङलेखोला र सीतापाइला क्षेत्रको सडक प्रयोग गरेको देखिएपछि यी दुवै नाकामा समेत चेकपोस्टसहित सुरक्षा टोली खटाइएको आयुक्त कार्यालयले जानकारी दियो।

‘घटना भएपछि सुरक्षाकर्मी परिचालनभन्दा घटना हुनै नदिनेगरी सुरक्षा रणनीति बनाएर सादा पोसाकका प्रहरी संख्या बढाएका छौं,’ एआइजी चन्दले भन्नुभयो, ‘आकस्मिक जाँच र छापा मार्ने क्रमसमेत जारी छ।’

सुरक्षा विष्लेषणका आधारमा काठमाडौं जोरपाटीको नयाँबस्ती, कपन, असनलगायत क्षेत्र, पाटन, भक्तपुर, ललितपुरको दक्षिणी भेग र कीर्तिपुरका केही क्षेत्रमा विप्लव समूहका सदस्य रहेको सूचना आधारमा प्रहरीले रेड र सर्च अभियान अघि बढाएको छ।

ललितपुरको आश्राङ, कालेश्वर, गिम्दी, ठूलो दुर्लुङ, सानो दुर्लुङ, प्युटार, माल्टामा विप्लव समूहको उपस्थिति देखिएपछि सुरक्षा सजगता बढाएको प्रहरीले जानकारी दिएको छ। स्रोतका अनुसार विप्लव समूहसँग आबद्ध रहेको सूचना आधारमा उपत्यकाका २ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले दैनिक निगरानीमा राखेको छ।

निर्वाचन बिथोल्ने समूहको सम्भावित योजनाको पूर्वानुमान अनुसार उम्मेदवार, उम्मेदवारको निवास, पार्टी कार्यालयमा प्रहरी निगरानी बढाइएको छ। ‘अहिले हामी सूचना संकलन र परिचालनमै केन्द्रित छौं,’ एसएपी जोशीले भन्नुभयो, ‘घटना हुनुअघि नै नियन्त्रण, घटनामा संलग्न हुनसक्ने सम्भावित व्यक्तिमाथि निगरानी र आवश्यकता अनुसार नियन्त्रण, सम्भावित स्थानमा अनुगमन र सुरक्षाकर्मी परिचालन गर्ने काम पनि भइरहेको छ।’

यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनु भएको छ। मंगलबार आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा यादवले निर्वाचनलाई सफल बनाउन सबैले सुरक्षा महसुस गर्नेगरी काम गर्न निर्देशन दिनुभयो।

उहाँले निर्वाचन मौन अवधि सुरु भएपछि थप सजगताका सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो। निर्वाचन नजिकिंदै जाँदा ठाउँठाउँमा बम पड्काएर त्रास फैलाउन खोजेकाले सुरक्षा व्यवस्थाप्रति उहाँले प्रश्न गर्नु भएको हो।

बैठकमा आयुक्तहरूले सु्रक्षा निकायले तयार गरेको योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिनु भएको थियो। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानूनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए। चुनाव सुरक्षामा राजनीतिक दलले समेत सघाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

सुरक्षा समितिको बैठकमा गृहसचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायबीच उच्चस्तरको सम्पर्क, समन्वय रहेको दाबी गर्नुभयो। उहाँले निर्वाचन विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कार्वाही भैरहेको दाबी गर्नुभयो। बैठकमा रक्षासचिव र निर्वाचन आयोगका सचिवले मतदातालाई सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सुझाएका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *