उत्पादन पर्याप्त भएपनि बाहिरबाट तरकारी भित्रिँदै

ram naam satya

विषादी प्रयोग भएको भारतीय तरकारी बिनारोकतोक सर्वसाधारणको भान्सामा पुगिरहेको अवस्थामा सरकारी तथ्यांकले भने नेपालमै मागभन्दा बढी तरकारी उत्पादन भएको देखाएको छ। मागभन्दा बढी तरकारी उत्पादन भए पनि तरकारीको आयात भने रोकिएको छैन। प्रत्येक वर्ष अर्बौं मूल्यबराबरको तरकारी आयात भइरहेको छ। कृषि विकास मन्त्रालयको तरकारीसम्बन्धी तथ्यांकलाई केलाउँदा यस्तो तथ्य फेला परेको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।
आव २०७३/७४ मा नेपालमा ३१ लाख ८६ हजार ६ सय ८३ टन तरकारी उत्पादन भएको थियो। त्यही वर्ष भारतलगायत तेस्रो मुलुकबाट २१ अर्ब ५४ करोड पाँच लाख मूल्यबराबरको पाँच लाख ८१ हजार तीन सय २९ टन तरकारी आयात भएको छ। आन्तरिक उत्पादन र आयात भएको तरकारीको परिमाण जोड्दा ३७ लाख ६८ हजार १२ टन हुन आउँछ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीकाअनुसार प्रतिदिन प्रतिव्यक्ति दुई सय ५० ग्रामका दरले एक वर्षमा ९१ किलो तरकारी आवश्यक पर्छ। नेपालको कूल जनसंख्या दुई करोड ८० लाख मानिसलाई एक वर्षमा २५ लाख ५५ हजार टन तरकारी आवश्यक पर्छ। उत्पादन र आयातको अवस्था हेर्दा देशभरको कुल मागभन्दा झन्डै १२ लाख १३ हजार किलो तरकारी बढी भएको अवस्था छ। नेपालका ७७ वटै जिल्लामा तरकारीको उत्पादन हुन्छ। तर तरकारी उत्पादनसम्बन्धी यथार्थ र बस्तुपरक तथ्यांक नहुँदा वास्तविक उत्पादन र खपतको अवस्थाबारे त्रुटिपूर्ण तथ्यांक आएको हो।

मागभन्दा बढी तरकारी उत्पादन स्वदेशमै भएको अवस्थामा अर्बौं मूल्यको तरकारी आयात गरी कहाँ खपत हुन्छ भनि वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले आश्चर्यमा परेको उल्लेख गर्नुभयो। तरकारी उत्पादनसम्बन्धी तथ्यांकलाई नै शंकाको घेरामा राख्नुपर्ने उहाँको ठहर छ। मागभन्दा बढी तरकारी उत्पादन हुने गरेको सरकारी तथ्यांक भए पनि नेपालमा हरेक वर्ष भारत, चीन, बंगलादेशलगायत देशबाट तरकारी आयात हुँदै आएको छ। राष्ट्र बैंक र तरकारी विकास निर्देशनालयले उपलब्ध गराएको तथ्यांक पनि एक आपसमा बाँझिएको अवस्थामा फेला परेको छ।

नेपालमा आयात हुने कुल तरकारीमध्ये करिब ७५ प्रतिशत हिस्सा भारतीय तरकारीले ओगटेको छ। भारतबाहेक बंगलादेश, चीन, थाइल्यान्ड, म्यानमार, रुस, भुटान, टर्की, यूके, भियतनाम, फ्रान्स, कोरिया, अस्ट्रेलिया, क्यानाडालगायत मुलुकबाट केही मात्रामा तरकारी आयात हुन्छ। विश्वका अन्य मुलुकले तरकारी आयात गर्दा नाकामै तरकारीको गुणस्तरसम्बन्धी परीक्षण गरेर मात्रै देशभित्र भित्र्याउने मापदण्ड कार्यान्वयनमा ल्याइसकेका छन्।

तर, नेपालमा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने कुनै पनि तरकारीको परीक्षण गरिँदैन। यसले विषादी र आर्सेनिकयुक्त तरकारी सजिलै नेपाल भित्रिने गरेको छ। नेपाली उपभोक्ताले अत्यधिक मूल्य तिरेर आफैं घातक प्रकृतिका रोग खरिद गरिरहेका छन्। नेपालमा भारतसहित तेस्रो मुलुकबाट एक आर्थिक वर्षमा २१ अर्ब ५४ करोड पाँच लाख ८० हजार मूल्यबराबरको झन्डै पाँच लाख ८१ हजार टन हाराहारीमा तरकारी आयात हुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *