

नेपाल टेलिकमले इन्टरनेट ब्यान्डविथमा भारतसँगको निर्भरता घटाउन अघि सारेको विकल्पको सबै तयारी पूरा भएको छ। उत्तरी छिमेकी चीनबाट पहिलोपटक ल्याउन लागिएको इन्टरनेट ब्यान्डविथका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइ परीक्षणको कामसमेत सम्पन्न भएको टेलिकमले जनाएको कारोबार अनलाइनले लेखेको छ। टेलिकमका अनुसार यसबाट परनिर्भरताको अन्त्यसँगै उपभक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नसमेत सहज भएको छ केरुङ नाकाबाट ल्याइने इन्टरनेट ब्यान्डविथका लागि हाल दुवै देशले आफ्नातर्फबाट प्रावधिक काम पूरा गरी परीक्षण्समेत सफल भएको जनाइएको छ। यससँगै चालू महिना (डिसेम्बर)भित्रै चीनको इन्टरनेट उपभोक्तालाइ दिइसक्ने टेलिकमको तयारी छ। टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले चीनबाट ल्याइन लागेको इन्टरनेटका लागि परीक्षण सफल भइ अब व्यावसायिक सेवा सुचारुका लागि अन्तिम सम्झौता हुने चरणमा रहेको जानकारी दिनु भएको छ। “हाम्रो तर्फबाट सवै काम सकिएको छ, सेवा शुभारम्भका लागि चाइना टेलिकम ग्लोबललाई अनुरोध गरेका छौं,” उहाँले भन्नुभयो। टेलिकमले चाइना टेलिकम ग्लोवलसँग इन्टरनेट ब्यान्डविथ खरिद गरी इन्टरनेट सेवालाई वहुपक्षीय मार्गमा लैजान लागेको हो। नेपालमा इन्टरनेट व्याण्डविथ पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार नेपाल–चीन इन्टरनेट कनेक्टिभिटी सञ्चालनमा ल्याउन लागिएको छ। नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि २०७३ पुसमा सम्झौता भएको थियो।