आयल निगमको मासिक घाटा ५५ करोड पुग्यो

ram naam satya
(GMT+08:00) 2017-11-21 17:33:32

नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लाग्दै गए पनि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको कारोबार अनलाइनले लेखेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो तीन महिनायता स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन। जसका कारणले गर्दा पनि घाटा बढ्दै गएको निगमको भनाई छ। निगमका निमित्त निर्देशक रामप्रसाद पाठकले घाटा बढेर मासिक ५५ करोड रुपैयाँ पुगेको बताउनुभयिो। “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ,” पाठकले भन्नुभयो, “चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो।”

निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यास र डिजेलमा घाटा छ। प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिन्डर २ सय ३७ रुपैयाँ घाटा छ। डिजेलमा निगमलाई मासिक २० करोड १ लाख र ग्यासमा ३० करोड ४ लाख रुपैयाँ घाटा छ। पेट्रोलमा प्रतिलिटर १४ पैसा, मट्टितेलमा १५ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ र बाह्यमा १८ रुपैयाँ ३१ पैसा नाफा रहेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १६ नोभेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलमा मूल्य बढेर आएको छ। यसअघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३७ पैसा नाफा रहेकोमा अहिले घटेर १४ पैसामा झरेको छ। यस्तै डिजेलमा २ रुपैयाँ घाटा रहेकोमा अहिलेर बढेर ३ रुपैयाँ ९८ पैसा पुगेको छ। आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ। सोहीअनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गर्ने गर्छ। तर, लामो समयदेखि मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको छ। यसअघि नोभेम्बर १ तारिखमा निगमले मूल्य बढाएको थियो। चुनावका बेला मूल्य बढाउँदा नराम्रो प्रभाव पर्न सक्ने भन्दै सरकारले तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो।

निगमले २०७२ सालमा इन्धनमा स्वचालित मूल्य लागू गरे पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन। स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउनुपर्ने हुन्छ। तर, निगमले पूर्णरुपमा स्वचालित मूल्य लागु गर्न सकेको छैन। पछिल्लो दुई÷तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दै गएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल इन्धनको मूल्य ५६ दशमलव ५५ डलर पुगेको छ।

निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ। त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ हजारदेखि १५ हजार किलोलिटरको माग छ। उपत्यकामा दैनिक साढे चार सय किलोलिटर पेट्रोल र साढे पाँच सय किलोलिटर डिजेल खपत हुने गर्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *