

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरिएको छ। आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ मा आगामी वर्ष हुँदै छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयारी समिति प्रमुख विनोद मैनाली, कीर्तिमानी धावक हरि रोकायले लोगो, मस्कट सार्वजनिक गरेका थिए।
आठौं राष्ट्रिय खेलकुदको मस्कटमा पदक लगाएको हात्तीको छावाले मसाल बोकेर दौडँदै गरेको छ। यसै गरी आठौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका विभिन्न ३५ खेललाई चिनाउने गरी हात्तीको छावालाई प्रयोग गरेर लोगो निर्माण गरिएको छ। राष्ट्रिय झन्डाको चन्द्र र सूर्य माथि भएको लोगोमा लुम्बिनी र लोगोको बायाँतर्फका विभिन्न रंगका सात रेखाले सात प्रदेशलाई चिनाउने खोजिएको छ । लोगोमा भएको आठ परेवाले आठौं राष्ट्रिय खेलकुदलाई झल्काउन खोजेको छ। मंगलबार सार्वजनिक गरिएको ‘राष्ट्रिय खेलकुद पर्व यो यसै प्रदेशमा। देशको छवि उचो राख्छौं अन्तर्राष्ट्रियमा’ बोलको आठौं राष्ट्रिय खेलकुदको गीत नारायण खतिवडाले लेखेका हुन्। गीतले खेलकुदको महत्व, गति, शान्ति सद्भावलाई समेट्न खोजेको बताइएको छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाले प्रदेश नम्बर ५ को खेलकुद विकासमा दूरगामी प्रभाव पार्ने विष्टले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बाँकेमा खेल पूर्वाधार निर्माणमा धेरै लगानी भैरहेको छ। खेलका लागि बाँके उर्वर भूमि हो । यहाँबाटै हामीले धेरै नेतृत्वकर्ता व्यक्ति पाएका छौं खेलकुदमा।’
