आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता औपचारिक उद्घाटन आज

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता औपचारिक उद्घाटन आज

ram naam satya

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच राष्ट्रपतिबाट आज साँझ औपचारिक उद्घाटन हुँदैछ। प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी छन्। विसं २०३८ देखि शुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा हुन थालेको हो।

नेपालगञ्जमा दोस्रोपटक हुन थालेको प्रतियोगिताले नेपालगञ्ज उल्लासमय बनाएको छ। यसअघि नेपालगञ्जमा विसं २०५५ मा चौथो राष्ट्रिय खेलकूद प्रतियोगिता भएको थियो। ‘आठौं राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उद्घाट समारोह हुँदैछ। राष्ट्रपति भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते नेपालगञ्जमा गर्नुहुनेछ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बृहत् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै समारोहमा विभिन्न भाषा, कला संस्कृति, वेषभूषामा खेलाडी सहभागी हुने बताउनुभयो। पैँतीस खेल समावेश रहेको प्रतियोगितामा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला खेलाडी सहभागी छन्। आठौँ राष्ट्रिय खेलकूदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करीब १० हजारको प्रत्यक्ष सहभागिता रहनेछ। यसैगरी पहिलोपटक प्रतियोगितामा सात देशका खेलाडीसमेत सहभागी भएका छन्। अष्ट्रेलिया, अमेरिका, मकाउ, दुबई, हङकङ, क्यानडा र मलेशिलाका २५ खेलाडी सहभागी हुँदैछन्।

नेपालगञ्ज अहिले प्रचण्ड गर्मीले तातेको छ। गर्मीका बीच बिहीबारदेखि औपचारिक रुपमा शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता (नेपाली खेलकुको महाकुम्भ)ले यहाँको वातावरणलाई गुञ्जायमान बनाइदिएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य द्वारबाट भित्रै छिर्दा प्रतियोगिताका लागि तयार पारिएको भिआईपी प्यारापिटले सबैको नजर तान्छ। प्याराफिटको अगाडि युवा तथा खेलकुद मन्त्रीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु तस्वीर अंकित लामो र आकर्षक होडिङ बोर्डमा कतिपयका आँखा गड्छन्। होडिङ बोर्डको सिरानमा ‘समृद्ध खेलकुद खुसी खेलाडी, बढ्छौ हामी सधै अगाडि,’ लेखिएको छ। त्यही बोर्डको दाँया छेउमा छ, राष्ट्रिपति विद्धादेवि भण्डारीले हात हल्लाइरहेको तस्वीर।

भिआईपी प्यारापिटको भित्र छिर्दा त्यसको निर्माणमा गरिएको हतारो प्रस्टै देखिन्छ। अर्थात् धेरै मिलाउन खोजेपनि केही नमिले जस्तो! ‘हिलोमाथि कार्पेट’ राखेजस्तै भएपनि हेर्दा भने आकर्षक नै देखिन्छ। भिआईपी प्यारापिटको काम बुधबारमात्रै सम्पन्न भएको प्रदेश नम्बर ५ खेलकुद परिषद्का अध्यक्ष भीम ओलीले बताए। ‘समयमा सामाग्री नआइपुग्दा भिआईपी प्यारपिटको काम समयमा सम्पन्न हुँदैन कि भन्ने हामीलाई डर थियो। तर, रात दिन गरेर काम गर्दा बुधबार बेलुकीसम्ममा सबै काम सकिएको छ। अब हामी आजको दिनमा आईपुग्दा प्रतियोगिता सफलता उन्मुख छ,’ उनले भने। ३३ वर्षे राष्ट्रिय खेलकुदको इतिहासमा २ वर्ष भित्र खेलकुदको आयोजना सम्भव छ भन्ने सन्देश नेपालगञ्जमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताले महत्वपूर्ण सन्देश दिएको उनले बताए।

प्रतियोगिताको औपचारिक उद्घाटन आजै (बिहीबार) अबको केही समयपछि हुँदै छ। उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मासहित विशिष्ट व्यक्तिको उपस्थिति हुने आयोजक राखेपले जनाएको छ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेशका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *