

सन् २०१८ को सुरुवातमै नेपालमा पर्यटक आगमनदर उत्साहजनक रूपमा वृद्धि भएको छ। पर्यटन व्यवसायीहरूका अनुसार चालू वर्षमा बन्द हडतालको संख्यामा आएको कमी तथा नेपालमा राजनीतिक संक्रमणकाल समाप्त भइकाले पर्यटक आगमनदर बढेको कारोबार अनलाइनले लेखेको छ। पर्यटक आगमन मापन गर्ने मुख्य सूचक होटल बुकिङ नै उत्साहजनक रहेको देखिन्छ। व्यवसायीहरूका अनुसार आगामी सिजनको लागि होटल बुकिङ ९० प्रतिशतभन्दा बढी रहेको व्यवसायीहरूले जनाएका छन्।
पर्यटनको दोस्रो मुख्य सिजन सुरु हुनैलाग्दा होटल बुकिङ ९० प्रतिशतभन्दा बढी रहेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले जानकारी दिनुभयो। यस सिजनका लागि होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैतर्फ पर्यटक आगमनदरको गति लिएको व्यवसायीले जनाएका छन्। शाहका अनुसार बुकिङ ९० प्रतिशत भए पनि विमानस्थलको अव्यवस्थापनका कारण धेरै बुकिङ रद्द हुने गरेको छ। “सिजन सुरु हुनुअघि होटल बुकिङ भए पनि १५ दिनअघि रद्द गर्न पाउने भएकोले बुकिङ रद्द हुने गरेको छ,” शाहले भन्नुभयो।

सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। उक्त संख्या हालसम्मकै धेरै रहेको थियो भने नेपाल पर्यटन बोर्डले सन् २०१८ मा १२ लाख भन्दा बढी पर्यटक नेपाल आउने प्रक्षेपण गरेको छ। सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए।

सन् २०१७ मा होटलको अकुपेन्सी ६५ प्रतिशत पुगेको थियो। “पूर्वाधारको समस्याले नेपाल आउन चाहेको पर्यटकले समेत हवाई टिकट पाएका छैनन्,” महासचिव शाहले भन्नुभयो। सन् २०१८ को जनवरी र फेब्रुअरीको आगमनदर समेत उत्साहजनक रहेकोले १२ लाखभन्दा बढी पर्यटक आउने दावी व्यवसायीहरूको छ। अहिलेकै होटलका पूर्वाधारले पनि १८ लाखभन्दा बढी पर्यटक धान्नसक्ने अवस्थामा रहेको छ। सन् २०२० सम्ममा ४ हजार भन्दा बढी होटलका रुम थपिँदै छन्।

दुई वर्षअघि वैशाख १२ मा गएको भूकम्पका कारण सन् २०१५ मा पर्यटक आगमनदर ३२ प्रतिशतले घटेको थियो। नेपालको अबको प्रवद्र्धन भारत र चीन रहेकोले बोर्डको ध्यान सोहीतर्फ गएकोले आक्रामक मार्केटिङमा केन्द्रित भएकोले सन् २०१८ मा पर्यटक आगमदर उत्साहजनक हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशी बताउनुहुन्छ।
नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष मधुसुदन आचार्य पनि सन् २०१८ मा १२ लाख भन्दा बढी पर्यटक नेपाल भ्रमण आउने बताउनुहुन्छ। “वार्षिक ३० प्रतिशतको वृद्धि गराउन सक्यौं भने २०३० सम्ममा वार्षिक ५० लाख पर्यटक नेपाल भिœयाउन सक्छौं,” आचार्यले भन्नुभयो। जसका लागि सरकारले पूर्वाधारमा विशेष जोड दिन आवश्यक भएको उहाँको भनाइ छ। स्थिर सरकारको अपेक्षा पूरा भएको र अब आवश्यक पूर्वाधार निर्माण भएमा नेपालमा ५० लाख पर्यटक सजिलै भित्रिने उहाँको दावी छ।