अशक्तलाई हिमाल चढ्न बन्देज

ram naam satya
नेपाल सरकारले अशक्तलाई हिमाल आरोहणमा बन्देज लगाएको छ। विभिन्न कीर्तिमान राख्ने भन्दै हिमाल आरोहणमा जाने संख्या बढेकाले सुरक्षालाई ध्यानमा राख्दै पछिल्लो मन्त्रिपरिषद् बैठकले अशक्तलाई पर्वतारोहण गर्न रोक लगाएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

       जोखिम र साहसिक काम भएकाले सुरक्षालाई ध्यानमा राखी पर्वतारोहणमा अनुमति नदिने निर्णय सरकारले गरेको हो। यसअघि १६ वर्ष पूरा नगरेको र चिकित्सकले प्रमाणित गरेको रोगीलाई मात्र आरोहण अनुमति रोकिएको थियो। सरकारले पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३ को उपदफा २ लाई संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई पनि आरोहण अनुमतिमा रोक लगाएको छ।

कानुनमा अस्पष्टता रहेको भन्दै पर्वतारोहण दलका सदस्यलाई प्रमाणपत्र दिन रोके पनि सरकारले नियमावली संशोधन गरी पर्वतारोही दल र त्यसका सबै सदस्यलाई आरोहणको प्रमाणपत्र दिने व्यवस्था गरेको छ। व्यक्तिगत क्षमता र सक्षमतालाई रोक लगाएको भन्दै आरोहीले भने दुःख व्यक्त गरेका छन्।

यसअघि दुवै खुट्टा नभएका हरि बुढामगरले सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यसाथ मेरापिक हिमालको सफल आरोहण गरेका थिए तर अब उनले आरोहण गर्न नपाउने भएका छन्। दुवै हात नभएका सुदर्शन गौतमले पनि शेर्पा गाइडको सहयोगले सगरमाथा आरोहण गरिसकेका छन्। नियमविपरीत ८६ वर्षीय मीनबहादुर शेरचनलाई सरकारले आरोहणको अनुमति दिएपछि उनको आधारशिविरमै मृत्यु भएको थियो।

गत वर्षसमेत दुवै आँखा नदेख्ने आरोहीले आरोहण अनुमति लिएका थिए। तर, आरोही मात्र नभई आरोहण दलका सदस्यसमेतको सुरक्षामा चुनौती थपिने भएकाले यसको नियन्त्रण गर्न आरोहणमा रोक लगाएको पर्यटन मन्त्रालयले जनाएको छ।

नेपालको हिमाल विदेशको जस्तै अल्पाइन प्रकृतिको नभएकाले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको सगरमाथा आरोही संघका महासचिव तथा राष्ट्रिय गाइड लाक्पा रङडु शेर्पाले बताउनुभयो। सरकारले दबाबकै भरमा विदेशीलाई अनुमति दिने गरेकाले सबैका लागि यो नियम लागू गर्नसमेत उहाँले आग्रह गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *