

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तिव्र गतिमा अघि बढेको बताउनुभएको छ। काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभयो। अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला गठन भएको प्राधिकरणले आफ्नो बहिरगमनसँगै काम गर्न नसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो। “हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो। त्यसपछि पुनर्निमार्ण भन्दा राजनीति गर्ने प्रमुखहरु ल्याइए” प्रधानमन्त्री ओलीले भन्नुभयो “जसले गर्दा पुनर्निमाणको गति एकदमै सुस्त भयो।” प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनसँगै प्राधिकरण काममा गति बढाएको बताउनुभएको छ।
“अब हाम्रा हरेक कामहरु यस्तै गतिशिल र तिव्र रुपमा हुनुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा संरचनाहरु सुरक्षित र भूकम्प प्रतिरोधी पनि हुनुपर्दछ।” प्रधानमन्त्री ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनु पर्ने बताउनुभयो। “एम.एम.पढेको मान्छेले ध्वनीलाई लिपी र लिपीलाई ध्वनीमा परिणत मात्र गर्न सक्ने भने त्यसको के काम” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण साक्षर बनाउने मात्र होइन जीनव निर्वाह गर्न सिकउने शिक्षाको आवश्यकता छ।”

प्रधानमन्त्री ओलीले शिक्षामा नैतिकता र इमानदारिताको पाटो कमजोर हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। “जसले बढी अपमानजनक शब्द प्रयोग गर्छ त्यही सुरो हुने,जसले अफवाह फैलाउछ त्यही ठुलो सुचनादाता हुने। यस्तो अवस्थाबाट समाजलाई बाहिर ल्याउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “शिक्षक शिक्षक जस्तै भद्र हुनुपर्यो,पत्रकार पत्रकार जस्तै सही सुचनाको संवाहक हुनुपर्यो जो जुन पेशामा छ त्यो पेशाको मर्यादा कायम राख्न सक्ने हुनुपर्यो।”

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर उठाउनका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ। “सामुदायिक विद्यालयमा गुणस्तर कायम हुन नसक्दा निजीमा महंगो पैसा तिरेर छोराछोरी पढाउनु परेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सामुदायिक विद्यालयका शिक्षकले पनि निजीसँग प्रतिष्पर्धा गर्न सक्ने गरीका विद्यार्थी उत्पादन गर्नुहोस। यसमा सरकारको साथ रहन्छ।”
kpsharmaoli.com.np बाट

