

नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखाना जावलाखेलमा रहेका सरकारी वन्यजन्तुलाई राष्ट्रिय शोक वा उत्सव समारोहमा बिदा मिल्दैन। वर्षभरि ३६५ दिन नै खुला रहने सदर चिडियाखानाको यो विशेषताका कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या लोभ लाग्दो तरिकाले बढिरहेको गोरखापत्र अनलाइनले लेखेको छ।
चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार सरदर वार्षिक ११ लाख अवलोकनकर्ता चिडियाखानामा वन्यजन्तु अवलोकनका लागि भित्रिरहेका छन्। चिडियाखानामा सबैभन्दा जेठो चाइनिज डेलिगेटर भनिने गोही छ भने ६५ वर्ष उमेरको हात्ती पनि छ। काकातुवा, चितुवा, चरीबाघ, बङ्गाल बाघ, सारस, धनेश, भुँडीफोरलगायतका जनावर र पक्षी यहाँका आकर्षण हुन्।
जलचरका रूपमा समुद्रमा पाइने विभिन्न प्रजातिका माछा, दुम्सी, गोमन सर्पलगायतका आकर्षक जनावर यहाँ छन्। चित्तल, घोरल, बाह्रसिङ्घे, अष्ट्रिच अवलोकन गरेर आगन्तुक रमाइरहेका छन्। राष्ट्रिय बिदा वा सार्वजनिक बिदामा चिडियाखानाको प्रशासनलाई बिदा मिले पनि जनावरलाई छुट्टी मिल्दैन, बिदाकै बेला पनि चिडियाखाना खुला हुने गरेकाले अवलोकनकर्ता माझ चिडियाखाना प्रिय बन्दै गएको छ।
