अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको संख्या बढ्यो

ram naam satya

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ। उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको विज्ञहरुले बताएका नेपाल खबर अनलाइनले लेखेको छ।

अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर गएका पंक्षी र जङ्गली जनावर पनि अहिले यहाँका जङ्गलमा देखिन थालेका स्थानीयको भनाइ छ।

‘समुदायलाई वन हस्तान्तरण गरिएपछि जङ्गलको संरक्षण राम्रोसँग भएको छ,’ अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले भन्नुभयो, ‘जङ्गलको संरक्षण भएसँगै जङ्गली जनावरको लागि चाहिने उचित बासस्थान र आहाराको कमी नहुँदा बसाइ सरेर गएका पंक्षी तथा वन्यजन्तु पनि यहाँका जङ्गलमा फर्किएका छन्।’

अन्नपूर्ण चक्रिय पदमार्ग वरपरका राम्चे, हिस्तान, घार, शिख, नारच्याङ, दाना, भूरुङ तातोपानी र दोवाका जङ्गलमा हाब्रे, भालु, बाघ, रेडपाण्डा, मृग, चिबे, कालिज, जुरेली, तित्रो लगायतका जङ्गली जनावर र पक्षी प्रशस्त मात्रामा देखिने गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो।

फगामीका अनुसार यस क्षेत्रका जङ्गलमा लोपोन्मुख अवस्थामा रहेका रातो हाब्रे (रेडपाण्डा) पनि प्रशस्त मात्रामा देखिएका छन्। रेडपाण्डा लगायतका लोपोन्मुख अवस्थामा रहेका जङ्गली जनावर तथा पक्षीको संरक्षणका लागि गाउँपालिकाले विशेष व्यवस्था गर्न लागेको बलामीले बताउनुभयो।

त्यसैगरी पश्चिमी म्याग्दीका जङ्गलमा पनि लोपोन्मुख रेडपाण्डा लगायतका जङ्गली जनावर देखिने थालेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो।

अध्यक्ष रोकाका अनुसार गाउँपालिकाको रुम, बिम र ओखरबोटका जङ्गलमा केही समययता पहिला कहिल्यै नदेखिएका जङ्गली जनावर र पक्षी पनि देखिन थालेका छन्। उता जङ्गली जनावरको वृद्धि भएसँगै स्थानीयले सास्ती पनि खेप्नुपरेको अन्नपूर्ण १ दोवाका मनप्रसाद गर्वुजाले बताए। जङ्गली जनावरले खेतवारीमा लगाएका बालीनाली र घर गोठमा पालेका पशुपक्षीलाई क्षति पुराउन थालेपछि स्थानीयले हैरानी व्यहोर्नुपरेको स्थानीयले बताएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *