

दूरसञ्चार कम्पनीको आम्दानीको मुख्य स्रोत विदेशबाट आउने भ्वाइस कलको गिरावटले कम्पनीको वार्षिक आम्दानीमै असर परेको छ। अन्तर्राष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानी २५ प्रतिशतसम्म घटेको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन्। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार विश्वव्यापी रूपमै डाटाको प्रयोग बढ्दै जाँदा भ्वाइसको प्रयोग घटेको हो। नेपालमा पनि डाटाकै प्रयोगले टेलिकम सेवा प्रदायकको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी बर्सेनि घट्दै गएको छ।
यो क्रममा एक वर्षको अवधिमा एनसेलले आईएलडी मार्फतमात्र चार अर्ब ५० करोडको गुमाएको छ। एनेसलले विदेशबाट आउने कलको शुल्कबापत गर्ने आम्दानीमा आर्थिक वर्ष २०७२/७३ को तुलनामा गत आवमा चार अर्व ५० करोडले घटेको छ। प्राधिकरणले दिएको जानकारीअनुसार विदेशबाट आउने कल शुल्कबापत एनसेलले अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा २१ अर्ब ५१ करोड रुपैयाँ कमाएको थियो।

मोबाइल डाटा र इन्टरनेटको प्रयोग बढ्दै जाँदा दूरसञ्चार कम्पनीले भ्वाइस कलमार्फत हुने आम्दानी गुमाएका हुन्। यस्तो आम्दानी गत आव २०७३/०७४ मा चार अर्ब ५० करोडको हाराहारीले घटेर १७ अर्ब रुपैयाँ भएको छ। यस्तै नेपाल टेलिकमले पनि आईएलडी मार्फतमात्र दुई अर्व ४० करोड भन्दाबढी गुमाएको देखिन्छ। टेलिकमले विदेशबाट आउने कलको शुल्कबापत गर्ने आम्दानीमा आर्थिक वर्ष २०७२/७३ को तुलनामा गत आवमा दुई अर्व ४० करोड घटेको छ। टेलिकमले अघिल्लो आव २०७२/७३ मा विदेशबाट आउने कलबाट ११ अर्ब ४३ करोड रुपैयाँ कमाएको थियो। गत आव २०७३/७४ मा यो आम्दानी नौं अर्ब तीन करोड रुपैयाँमा मात्रै सीमित रहेको उल्लेख छ।

टेलिफोन सेवा प्रदायक कम्पनिको अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा आएको कमीको मुख्य कारण ओभर द टप (ओटीटी) भएको प्राधिकरणका वरिष्ठ निर्देशक आनन्द राज खनाल बताउनुहुन्छ। उहाँका अनुसार ओटीटी कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप ह्वाट्सएप, म्यासेन्जर, आईएमओलगायत सामाजिक सञ्जाल हुन्। यसको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानी खस्किएको हो। उहाँका अनुसार पहिले अहिले स्मार्टफोनमा दुनियाँ अटेको थियो। हाल भिडियो हेर्न टेलिभिजन, फोन गर्न, डाटा चलाउन म्यासेज गर्नु पर्ने अवस्थामा परिवर्तन भएको छ।

अहिले हातमा स्मार्टफोन र इन्टरनेट छ भने एकै ठाउँबाट फोनकल, भिडियो कल, भिडियो हेर्न, म्यासेज गर्ने सकिने भएको छ। यसको असर टेलिकम कम्पनीमा देखिएको हो। ‘स्मार्टफोनमा इन्टरनेट प्रयोग गरी कल गर्दा त्यसका लागि कुन ठाउँबाट इन्टरनेट आइरहेको छ, त्यो कुनै सरोकार हुँदैन्’, उहाँले भन्नुभयो, ‘एउटा एप्समार्फत निःशुल्क कल, म्यासेज, भिडियोलगायत सुविधा पाउँदा ग्राहक यसमा आकर्षित भएका छन्, यसले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा वार्षिक रूपमा गिरावट आइरहेको हो।’
अर्को ग्राहकले आफूलाई सहज हुने माध्यमका रूपमा यस्ता एप्स प्रयोग गरिरहेका छन्। यसको प्रतिफल कम्पनीको आम्दानीमा देखिएको छ। बाहिरबाट एप्समार्फत कल गर्दा टेलिफोन सेवा प्रदायक कम्पनीले साधारण कलमा जस्तो च्यानल पार्टनरमार्फत आउने पैसा आउँदैन त्यसले पनि कम्पनी उक्त आम्दानीमा कमी आएको हो। नेपालबाट यस्ता एप प्रयोग गर्दा डाटा प्रयोग भएअनुसार आम्दानी हुने भएकाले त्यसले केही हदसम्म कभर गर्छ। यसका साथै यस्ता एप्सले गर्दा अन्तर्राष्ट्रिय कल रेटमा पनि कमी आएको छ। भाइबर, स्काइप ह्वाट्सएपलगायत एप्ससँग प्रतिस्पर्धाका लागि इन्टरनेसनल कम्पनीले कल रेट घटाएका छन् यसले गर्दा अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा कमी आएको एनसेलले जनाएको छ।