

अष्ट ‘ज’ अभियान नेपालले भारतीय विदेशमन्त्री शुषमा स्वराजको ध्यानाकर्षण गराएको छ ।
अभियानका महासचिव निलकण्ठ तिवारीद्धारा विहिबार जारी एक विज्ञप्तिमा नेपाली अदुवा निकासीमा भारतले पुर्याएको अवरोधका कारण नेपाली किसानमा त्यसले पुर्याएको असर सम्बन्धमा ध्यानकर्षण गराएको हो ।
अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कृषि उपज भारतीय बजारमा निर्वाध प्रवेश गर्न पाउने र नेपाली कृषिजन्य बस्तुको भारत निकासीमा कर नलाग्ने प्रावधान नेपाल भारतको बाणिज्य सन्धिमा स्पष्ट हुँदाहुँदै भारतीय पक्षले नेपाली अदुवा निर्यात प्रक्रियामा बखेडा निकाल्दै आएको छ । नेपाली उत्पादनमाथि सोझै प्रतिबन्ध लगाउन नसकिने WT0, SAFTA र दुई देशका सन्धिको स्पष्ट व्यवस्थालाइ लत्याएर कहिले गुणस्तरहिन र कहिले चीनबाट आयातीत भनेर भारतले नेपाली अदुवा रोक्ने गरेको घटनाबाट अदुवा उत्पादक किसान मर्माहित हुनु परेको पनि स्मरण गराउन चाहान्छौं ।’
अभियानले आजदेखि हुने भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण तथा भेटघाटका क्रममा अहिलेको जल्दो बल्दो विषय अदुवा निकासी सम्बन्धमा देखिएको समस्यालाई पनि सरकारी पक्षले प्राथमिकताका साथ राखोस् भन्दै विज्ञप्तिमा भनेको छ ‘भारतीय विदेशमन्त्री शुष्मा स्वराजको यो भ्रमणको अवसरमा दुई देशको पारस्परिक हित, लाभ तथा सम्बन्धको उचाइका विषयमा छलफल हुँदा अदुवा निकासीको अबरोधलाई प्राथमिकतामा राख्न पनि नेपाल सरकार तथा सम्बद्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं ।’
स्मरणरहोस् ‘कृषि व्यवसायिकरणको लागि राष्ट्रिय जागरण :समृद्ध नेपालका लागि स्वाधीन अभियान’ भन्ने मुल नाराका साथ विगत ९ वर्ष देखि सञ्चालन हुँदै आएको अष्ट ज अभियानले जल, जमिन, जंगल जडिबुडी, जराजुरी, जलवायु, जनावर र जनशक्ति आठ ‘ज’ भित्र रहेर विशेष अभियान सञ्चालन गर्दै आइरहेको छ ।

