अत्याधुनिक मिसिनद्वारा भेरी–बबईमा दुई सुरुङ

अत्याधुनिक मिसिनद्वारा भेरी–बबईमा दुई सुरुङ

ram naam satya
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको अत्याधुनिक चिनियाँ टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ। टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो। हो। आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले गरिरहेको छ। अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ। मेसिनले कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो। ‘नेपालमै पहिलोपटक परीक्षणका लागि प्रयोग गरिएकाले पहिले थुप्रै आशंका थिए,’ खनालले भन्नुभयो, ‘अहिलेसम्म कुनै समस्या आएको छैन। माघ मसान्तसम्म हर्रे डाँडामुनि सुरुङ पुगिसक्ने अनुमान गरेका छौं।’ उहाँले यही गतिले काम अघि बढे तोकिएकै समयमा सुरुङ खन्ने काम पूरा हुने बताउनुभयो। सुरुङसम्बन्धी निर्माणका सबै कार्यहरू सन् २०२० मार्चसम्म गरिसक्ने आयोजनाको लक्ष्य छ।

आयोजनाका भूगर्भविद् अनील खत्रीले दैनिक १८ घण्टा सञ्चालित टीबीएमले प्रतिदिन २० देखि २५ मिटरसम्म सुरुङ खनिरहेको बताउनुभयो। उहाँका अनुसार मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ प्राविधिक र झन्डै ६ सय नेपाली कामदार चौबिसै घण्टा सुरुङ निर्माणमा खटिएका छन्। सुरुङको लम्बाइ १२ किमि र चौडाइ ५.६ मिटर छ। टीबीएमले सुरुङ खनेसँगै सेग्मेन्टको काम पनि भइरहेको छ। हाल दैनिक ८० सेग्मेन्टको प्रयोग भइरहेको छ। १२ किमि सुरुङका लागि ३६ हजार सेग्मेन्ट आवश्यक पर्छ।

यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने चलन थियो। ‘संवेदनशील भूबनोटका कारण ड्रिलिङ–ब्लास्टिङबाट सुरुङ खन्न असम्भव भएपछि सिँचाइ विभागले टीबीएम खरिदको प्रस्ताव गरेको हो,’ भूर्गभविद् खत्रीले भन्नुभयो, ‘पहिलोपटक प्रयोग भएको मेसिनको सफल परीक्षणले भविष्यमा सरकारले अन्य आयोजनामा पनि प्रयोग गर्न सक्नेछ।’ अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको यो मेसिन चीनबाट ल्याइएको हो। अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरिदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो। सर्तअनुसार उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेसिन जडान गरेको हो।

मेसिनले भेरी र बबई नदीबीचको १२ किमि लामो चुरे पर्वत खन्दै छ। टीबीएमले खनेको माटो ओसार्न मोनो रेल प्रयोग गरिएको छ। सरकारले अन्तर जलाधार जल स्थानान्तरण परियोजनामध्ये यसलाई मुलुककै पहिलो तथा नमुना परियोजनाका रूपमा अघि बढाएको छ। मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमुना भनिएको हो।

सिँचाइ विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता छ। यसअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई १२ किमि लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेन्ड ४० घनमिटर पानीलाई बबईमा मिसाइनेछ। बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। सुरुङ खन्ने काम सम्पन्न भएपछि विद्युत् गृह निर्माण थालिनेछ।

स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कुल लागत साढे १६ अर्ब रहेको छ। बाह्रै महिना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ अर्ब र विद्युतबाट ४ अर्ब प्रत्यक्ष आम्दानी अनुमान गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *